Logo
Logo

तीन जनाको हत्यापछि आत्महत्या प्रकरणः राजुले भिडियोमा नाम लिएका व्यक्ति पक्राउ



काठमाडौं । सीतापाइलामा श्रीमती र छोरीसहित तीन जनाको हत्या गरेपछि राजु घिमिरे भन्ने काजी विश्वकर्माले आत्महत्या गर्नुअघि भिडिओ बनाएर नाम लिएका व्यक्ति पक्राउ परेका छन् ।

१४ वर्षका छोरा अनीश श्रेष्ठलाई उनकै मोबाइलबाट भिडियो खिच्न लगाएर नाम लिएका चितवनका श्रेष्ठ थरका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बुधबार बिहान श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या गरेपछि काजीले १४ वर्षका छोरा अनिशलाई मोबाइलबाट भिडिओ खिच्न लगाएका थिए ।

श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेका कारण हत्या गरेको उनले भिडिओमा बताएका थिए । घटनाको अनुसन्धानको लागि ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाइएको छ ।

राजु घिमिरे भन्ने काजीले आत्महत्या गरेको विषयमा भने उनका भाइ विजय घिमिरे विश्वकर्माले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका छन् । आफूले केही व्यक्तिविरुद्ध जाहेरी दिएको राजुका भाइ विजय घिमिरे विकले बताए ।

‘राजु घिमिरे भन्ने काजीले आत्महत्या गरेको विषयमा आत्महत्या दुरुत्साहन मुद्दा परेको छ । यसैले आत्महत्या अघि नाम लिएका एकजना पक्राउ परेका छन् । अनुसन्धान भइरहेको छ ’ प्रहरी स्रोतले भन्यो ।

राजु घिमिरे भन्ने काजीले नाम लिएका अर्का व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्