काठमाडौं । यही फागुन ६ गते चितवनका किसान दूध बिक्री नहुँदा सडकमा पोख्न बाध्य भए ।
उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दै किसानले दूध सडकमै पोखेर विरोध जनाए । त्यसा त केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ आह्वानमा देशभरि दूध किसान आन्दोलित नै छन् ।

देशभरका किसानले दूध बिक्री गरेको ६ अर्बभन्दा धेरै रकम पाएका छैनन् । जसमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले तिर्नुपर्ने मात्रै दुई अर्बभन्दा बढी रहेको राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडले जनाएको छ ।
देशमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पैसा नपाएर आन्दोलन गरिहँदा अर्बौँको दूध भित्रिरहेको छ । मुलुक दूधमा आत्मनिर्भर भएको घोषणा भएको पनि दुई वर्ष भयो । तर, वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको दूधजन्य पदार्थ आयात भइरहेको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिना (साउनदेखि पुस)मा एक अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको दूध तथा दूधजन्य पदार्थ आयात भइसकेको छ ।
सबैभन्दा धेरै पाउडर दूध एक अर्ब एक करोडको आयात भएको छ । यो अवधिमा १० लाख ३७ हजार किलो धुलो दूध आयात भएको छ । यसरी आयात भएको धुलो दूधको ठूलो परिमाण ठूला होटेलको भान्सा र गेस्ट रुममा खपत हुने गरेको छ ।
त्यस्तै, १९ लाख ९३ हजार रुपैयाँ बराबरको चार हजार पाँच सय ३७ लिटर कच्चा दूध आयात भएको छ । घिउ, बटर, पनिरलगायतका पदार्थ ३२ करोड २० लाख बराबरको आयात भएको छ । गत आव ०७९/८० मा भने कुल दुई अर्ब ३८ करोड बराबरको दूध तथा दुग्ध पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।














