Logo
Logo

महन्थलाई झाको पत्र- गति बढाउन ‘गियर चेन्ज’ गर्ने बेला भयो, मार्गदर्शन गर्नुस्


819
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव केशव झाले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न सुझाव दिएका छन् । शनिबार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पत्र पठाउँदै नेता झाले पार्टीको गति बढाउन ‘गियर चेन्ज’ गर्ने बेला भएको बताएका हुन् ।

साथै उनले नेतृत्वको स्वःमूल्यांकन गर्ने बेला भयो कि भन्दै प्रश्न सोधेका छन् । ‘आज १६ वर्ष भयो, मधेसको नेतृत्व यहाँले गरिराख्नु भएको छ । स्वःमूल्यांकन गर्ने बेला भयो कि ? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्ष ज्यू ? तमलोपादेखि लोसपासम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? मधेसी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो कि ?,’ उनले भनेका छन् ।

कांग्रेस परित्याग गरेर मधेस राजनीतिमा होमिँदा ठाकुरले ‘बाँचे भने मधेसमा शासन सत्ता सञ्चालन गर्छु नभए वीरगति प्राप्त गरेर स्वर्गको बास बस्छु’ भनेको झाले स्मरण गराएका छन् ।

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिन पनि भनेका छन् । ‘अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि ? इतिहासले सधैँ अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्ष ज्यू’, झाको पत्रमा उल्लेख छ ।

उनले पार्टी अवसरवादमा परिणत हुँदा मधेशमा एमाले, काग्रेंस जस्ता पार्टीहरु बलियो भएको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरु केहि हुन सकेन । त्यसकै कारण होला, मधेशमा मधेशी पार्टीहरू कमजोर भइ पुरानै एमाले, काग्रेंस जस्ता पार्टीहरू बलियो भयो । जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु उपयुक्त होला अध्यक्ष ज्यू । नभए जसरी हाम्रो पार्टी निष्प्राण हुदै छ, बिस्तारै सवैलेछोडेर जानेछ ।’

प्रतिक्रिया दिनुहोस्