Logo
Logo

प्रधानमन्त्री संसद बैठकमा नआएपछि एमाले आक्रोशित


693
Shares

काठमाडौं । नेकपा एमालेले सरकारले विपक्षी दलले उठाएका कुरा सम्बोधन नगरेर उत्तेजित बनाउने कार्य गरेको आरोप लगाएको छ ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुका विषयमा सरकारले जवाफ नदिई विपक्षी दललाई उत्तेजित बनाउने, बलमिच्याइँ गर्ने काम गरेको आरोप लगाएका हुन् ।

साथै उनले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई सरकारले बर्खास्त गरे प्रतिपक्षी दलले संसद अवरुद्ध गर्नु नपर्ने समेत बताए ।

‘हामीले संयमताका साथ जिम्मेवारी बोधका साथ संसद्मा हप्तौँ दिनदेखि उठाएको विषय सुन्न सरकार तयार छैन । आज प्रधानमन्त्रीज्यूले यति महत्त्वपूर्ण विषयमा संसद्मा आएर जवाफ दिनुपर्ने ठाउँमा आज संसद् छलेर बाहिर हिँडिरहनुभएको छ । यहाँ उठेका कुराहरूलाई उहाँले अनदेखा गरिरहनुभएको छ । यो अत्यन्तै दुख र चिन्ताको कुरा हो । हामी कहिले पनि संसद् अवरोध होस भन्ने चाहँदैन । सरकारले सुनिदियो भने हामीले संसद् अवरुद्ध गर्ने, बेल घेर्ने काम गर्नुपर्दैन,’ आक्रोहित हुँदै उनले भने ।

आफुहरुको माग सरकारले सुनुवाइ नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

गत फागुन ६ गतेको संसद् बैठकदेखि लगातार संसद्मा एमालेले बालकुमारी घटनाका दोषीलाई कारबाही, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई सरकारबाट हटाउन, रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा सहभागी भएको भन्दै पर्यटनमन्त्री सुदन किराँती र अख्तियारमा बयान दिन गएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउन दबाब दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्