Logo
Logo

आगामी बजेटका सिद्धान्त र प्राथमिकता भोलि संसद्मा प्रस्तुत हुँदै



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्ने भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार सोमबार ‘प्रिबजेट’ छलफलका लागि बजेट तथा कार्यक्रमका सिद्धान्त, आयोजना वा कार्यक्रमका प्राथमिकता संसद्मा प्रस्तुत गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयका अनुसार मन्त्री महतले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।

सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस हुन लागेको हो । यसले आगामी बजेट कस्तो बनाउने भन्नेबारे संसद्मा पर्याप्त छलफल हुने र जनताका प्रतिनिधिले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समेट्न सहज हुने सरकारको भनाइ छ ।

यसअघि विनियोजन विधेयक पेस गर्नुभन्दा कम्तीमा १५ दिन अगाडिमात्र सिद्धान्त तथा प्राथमिकता पेस गर्ने चलन थियो ।
सरकारले १५ जेठमा आगामी आवको बजेट सार्वजनिक गर्ने गर्छ । सोहीकारण जेठ पहिलो सातामात्र बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा आउने गर्थ्यो ।

नयाँ तालिका अनुसार संघीय संसदले अर्थ मन्त्रालयलाई अब १५ चैतभित्र बजेट तथा कार्यक्रमका सिद्धान्तमा समावेश गर्नुपर्ने वा हटाउनुपर्ने विषय भए सुझाव दिन सक्ने छ । यसअघि यो मिति तय थिएन ।

प्रतिक्रिया दिनुहोस्