Logo
Logo

कला प्रदर्शनीले पर्यटन विकासमा टेवा पुग्छ : रामवरण यादव



काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्राकृतिक दृश्य, सम्पदा तथा मौलिक विषयलाई कला सृजनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन् ।

नेपाल कला परिषद् काठमाडौँमा जारी मुन्धुम अन्तरराष्ट्रिय कला प्रदर्शनीको आज अवलोकन गर्दै पूर्वराष्ट्रपति डा यादवले खोटाङका मौलिक पहिचान, कलासंस्कृति र रहनसहनलाई ‘क्यान्भास’मा उतारेर काठमाडौँमा प्रदर्शन गर्दा विशेषतः खोटाङको परिचय आम नेपाली र विश्वसामु पुग्ने बताएका हुन् ।

कला सृजनाको अवलोकनपछि प्रतिक्रिया व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले प्राकृतिक सौन्दर्यको खानी हाम्रो देशका कला र संस्कृतिको प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई विशेष धन्यवाद दिए ।

प्रदर्शनीको आजै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रकाशमान सिंहले पनि अवलोकन गरे ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि यहाँ कला प्रदर्शनी सुरु भएको हो । उक्त ‘मुन्धुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ । सांसद, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु अभिरुचिका साथ कला अवलोकन गर्न आएका छन् ।

यसअघि प्रदर्शनीमा सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत सांसदले अवलोकन गरिसक्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रदर्शनीमा ५० देशका दुई सय १० चित्र सृजना समावेश छन् । स्वदेशी र नेपाल आएका विदेशी (१४ देशका) कलाकारले गत असोज १७ देखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तरराष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भई बनाएका सृजनाहरु यहाँ समावेश छन् । यसका साथै विदेश र स्वदेशबाट मगाइएका कूल ५० देशमा दुई सय १० भन्दा बढी चित्र प्रदर्शनीमा राखिएको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताए । प्रदर्शनीमा अवलोकनका लागि कला पारखीहरुको बाक्लो उपस्थिति हुने गरेको उनले बताए ।

नगरपालिकाका प्रमुख भट्टराईले पालिकाको संस्कृति र पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन प्रदर्शनी आयोजना गरिएको बताए । उनले एउटै चित्र रु दुई–तीन लाखमा किन्ने भनेर धेरै कलापारखी आउनुभएका तर यहाँ समावेश सबै चित्रकलालाई अन्तरराष्ट्रिय सङ्ग्रहालयका बनाएर खोटाङमै राखिने बताए ।

नेपालसहित अष्ट्रेलिया, बङ्लादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लाद्भिया, लिथुवानिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामका कलाकारले दिक्तेल नै पुगेर चित्र बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्