Logo
Logo

नेपालमा ७ महिनामा भित्रियो १५ अर्बको विद्युतीय सवारीसाधन



काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारीको आकर्षण बढेको छ । यो कुरा विद्युतीय सवारीसधान आयातको तथ्यांकले पनि पुष्टि गर्छ ।

नेपालमा चालु आर्थिक वर्षको ७ महिनामा १५ अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको छ । जसमार्फछ सरकारले साढे ६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६१ सय ५९ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएको थियो । जसबाट सरकारले ६ अर्ब ६२ करोड ८० लाख ३० हजार राजस्व संकलन गरेको हो ।

नेपालमा चार मोडलका विद्युतीय कार, जिप र भ्यान आयात हुने गरेका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ५० किलोवाट क्षमतासम्मका २६ सय ७७ वटा विद्युतीय सवारीसाधन भित्रिएको छ ।

सो मोडलका विद्युतीय सवारीसाधन खरिद गर्दा चार अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको थियो । तर, सरकारले ती सवारीसाधन आयात गरेबापत सरकारी ढुकुटीमा भने एक अर्ब ४८ करोड ५१ लाख ५८ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको जनाएको छ ।

सोही अवधिमा ५१ किलोवाट देखि एक सय किलोवाट क्षमताका ३३ सय ९४ वटा विद्युतीय सवारीसाधन नेपालमा भित्रिए । त्यसवापत ९ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ बिदेसिएको छ । यद्यपि, सरकारले ती सवारीसाधन आयात हुँदा ४ अर्ब ७० करोड ६३ लाख ८५ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षकै ७ महिनामा १०१ किलोवाटदेखि २ सय किलोवाट क्षमताका चारपाङग्रे ७० वटा विद्युतीय सवारीसाधन आयात भएको भन्सार विभागले जनाएको छ ।

ती सवारीसाधन खरिद गर्दा मुलुकबाट ३५ करोड ९७ लाख ५८ हजार रुपैयाँ बाहिरिएको छ भने । ती मोडलको सवारी आयात गर्दा २५ करोड ३५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, २०१ किलोवाट क्षमताभन्दा ठूलो क्षमताको १८ वटा जिपसहितको पिकअप पावरका विद्युतीय सवारीसाधन भित्रिएको विभागले जनाएको छ । ती मोडलका सवारीसाधन खरिद गर्दा मुलुकबाट १२ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ भने आयात भएबापत १८ करोड २९ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा तीन पाङग्रे विद्युतीय सवारीसाधन पाँच हजार ७ सय ९७ वटा भित्रिएको छ। ती तीन पाङग्रे विद्युतीय सवारीसाधन खरिद गर्दा मुलुकबाट ६० करोड रुपैयाँ बिदेसिएको छ भने सो सवारीसाधनको राजस्वबापत सरकारले २० करोड ५७ लाख २७ हजार रुपैयाँ प्राप्त गरेको छ ।

भन्सार विभागले जनाएअनुसार आव २०७८/७९ मा चार पांग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए । अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चार पांग्रे विद्युतीय सवारी साधन आयात भएका थिए ।
भन्सार विभागको विगत दुई वर्षको तथ्यांकले पनि नेपालमा विद्युतीय सवारी साधनतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखाउँछ ।

भन्सार विभागका अनुसार आव २०७८÷७९ मा चार पांग्रे विद्युतीय सवारी साधन १८ सय सात वटा आयात भएको थियो । तर, आर्थिक वर्ष २०७९÷८० मा त्यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ ।

विभागकै तथ्यांकअनुसार आव २०७९÷८० मा विभिन्न मोडेलका चार हजार ५० वटा चार पांग्रे विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन् । यो अघिल्लो आवको तुलनामा करिब ६० प्रतिशतभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस्