काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा दोहोरी चलिरहने हो भने मूल विषयपनि छाँयामा पर्ने अवस्था रहेको भन्दै अख्तियारले डामेका, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेका झन्डावालाको झन्डा छोपेर घरपठाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘विगत केहि दिनदेखि संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो ? मूल विषय पनि छायाँमा पर्नेभयो । अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र संघीय संसद्का महामसचिव पद्मप्रसाद पाण्डेय लक्षित टिप्पणी गर्दै उनले
सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए ।
उनले भने, ‘अनि सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला । फूलमाला लगाएर स्वागत पनि गरौंला । दोषी भए दण्ड व्यर्होनु होला ।’














