Logo
Logo

एमाले कैलाली अधिवेशन : लेखराजले भाउ पाएनन्, कर्ण, नारद र झपटको पनि जोर चलेन !


52.9k
Shares

धनगढी । सात दिनको रस्साकस्सीबीच नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यज्ञराज ढुंगानाको नेतृत्वमा पाँच पदधिकारीसहित १ सय ५० जना सदस्यहरु चयन गरेको छ । अधिवेशनका दौरानमा देखिएको रस्साकस्सीले यथास्थितिमा आगामी दिनमा सुदूरपश्चिममा नेकपा एमालेको भविष्य कस्तो हुने हो भन्ने अनेकौ आशंका र प्रश्नहरु उब्जाएको छ ।

प्रदेशको शीर्ष भनिएको नेतृत्व खुल्लमखुला तीन गुटमा बाँडिदा एमालेले भनेको मिसन ८४ मा धक्का लाग्ने विश्लेषण गरिन थालिएको छ । गत निर्वाचनको नतिजा निरासजनक भएपछि अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको पार्टी गतिविधिलाई चासोपूर्वक हेरेका थिए ।

ओलीले कैलालीमा सर्वसम्मत विधिबाट नेतृत्व चयन गर्न नेतारुलाई सुझाएका थिए । सर्वसम्मतको प्रयास विफल भएपछि जिल्ला अधिवेशनमा निर्वाचन गर्नु परेको थियो। निर्वाचनबाट ६९ मतान्तरले यज्ञराज ढुंगाना अध्यक्षमा विजय भएका थिए । उनले सर्वाधिक २ सय ८७ ल्याएका थिए । ढुंगानाका प्रतिद्वन्दी डेजी पाण्डेले २ सय १८ र अर्का प्रत्यासी दुर्गा प्रसाद जोशीले ६३ मत प्राप्त गरेका थिए । तीनैले जना प्यानल सहित उम्मेदवारी दिएका थिए ।

यज्ञलाई केन्द्रीय सदस्यहरु लिला भण्डारी, दामोदर भण्डारी कमला ओली कमला बोहरा प्रदेश सचिव रणबहादुर चन्दको साथ थियो भने व्यवस्थापनमा प्रदेश कमिटी सदस्य सूर्यबहादुर थापा र महादेव वजगाई, नेताहरु विरेन्द्र रावल सम थापा तीर्थ भट्टराई लगायत खटिएका थिए । साथमा जिल्लाका पार्टी निकट पत्रकारहरुले पनि यज्ञलाई साथ दिएका थिए । यस टिमले यज्ञको जितलाई पार्टी शुद्दीकरण र सुदृढीकरणको सुरुवात भनेर भनि प्रतिक्रिया दिएको छ ।

यसैगरी डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य नारदमुनी राना, केन्द्रिय सदस्य झपट रावल र प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीको साथ रेहेको थियो । फिल्डमा यस टिमको व्यवस्थापन झपट रावल र जिल्ला नेता द्वारिका प्रसाद न्यौपानेले गरेका थिए । यी दुवै जना दिनरात नभनी खटिएका थिए । यो गुटका उम्मेद्वार डेजी पाण्डे यस अघि कैलाली जिल्ला कमिटी सचिव हुन ।

करिब तीन सय मत ल्याई विजयी हुने भनी चर्चा गरिएका पाण्डे अधिवेशन प्रतिनिधि व्यवस्थापनका संयोजक पनि आफै थिए । उनले पाँच प्रतिसत मनोनित कोटामा २८ जना प्रतिनिधि एकलौटी मनोनित गरेका थिए । पाण्डे टिमले साम, दाम, दण्ड, भेद सबै उपाए लगाएर भएपनि चुनाव जित्ने युक्ति निकाले पनि अन्तमा परिणाम पक्षमा नआउने देखेपछि अधिवेशनको समय लम्याउदै ६ दिनसम्म पुर्याएको अधिवेशनका प्रतिनिधिहरु बताउँछन ।

चुनाव नजितिने संकेत देखापरेपछि धाँधली गरेर जित्न राति चुनाव गराउने योजना बनेको थियो । ‘६ दिनको अस्तव्यस्तताबाट दिक्क भएका प्रतिनिधिहरुले निर्वाचन स्थलमा नारावाजी गर्दै तालाबन्दी गरेपछि भोलिपल्ट विहान चुनाव गरिएको थियो । उज्यालोमा चुनाव हुँदाको लाभ यज्ञ र उनको टिमलाई प्राप्त भयो । एक जना प्रतिननिधिले भने ।‘ यो टिमलाई एमालेका पूर्वउपाध्यक्ष भीम रावलको समेत सहयोग रहेको बताइन्छ ।

उता सर्वसम्मतमा बाधक छैन भन्ने तर भित्रभित्रै गुट निर्माण गरेको भनि आरोप लागेका एमाले केन्द्रीय सचिव लेखराज भट्टले यस अघिका कार्यवाहक अध्यक्ष दुर्गा जोशीको नेतृत्वमा प्यानल उतारेका थिए । दुर्गालाई लेखराज भट्ट र केन्द्रीय सदस्य गौरी शंकर चौधरीको साथ थियो भने उनको व्यवस्थापनमा स्वयं गौरी शंकर र प्रदेश कमिटी सदस्य तथा लेखराजका भाई गोकर्ण भट्ट रातदिन खटिएका थिए । दुर्गा बाहेक यो टिममा पूर्व माओवादीबाट एमालेमा आएका नेता कार्यकर्ताको सक्रियता थियो । यो गुटलाई ‘एकता प्रक्रिया टिम’ भनि नामाकारण गरिएको छ ।

यस टिमका फाउण्डर स्वयं लेखराज हुन । हरेक पटकका कमिटी निर्माणमा एकता प्रक्रियाको नाममा भागवण्डा र हिस्सेदारी खोजिरहने भट्ट टिमले अघिल्लोपल्ट असोजमा सम्पन्न प्रदेश अधिवेशनमा एकता प्रक्रियाका नाममा हिस्सेदारी सुनिश्चित गर्न पार्टी भित्रका परस्पर विरोधी खेमासंग सहकार्य गरेको थियो ।

प्रदेशको पदाधिकारी र सदस्यहहरुमा आफु निकटलाई स्याटल गर्न नेता कर्ण थापा र नारदमुनी रानासंग लेखराजले गठबन्धन गरेको बताइन्छ । कुनैबेला कर्ण थापाको साथले भीम रावललाई इन्चार्जबाट हटाएर सुदूरपश्चिमको इन्चार्ज बनेका भट्टको सम्बन्ध पछि गएर थापासंग चिसिएको थियो । दशौं महाधिवेशनबाट भट्ट एमालेको सचिव भएपछि थापाले आफु इन्चार्ज हुनु पर्ने लविङ गर्न थालेपछि भट्ट र थापाको सम्बन्ध चिसिएको भनिन्छ ।

यी दुबै नेता जिम्मेवारीको विषय थाति राखेर प्रदेश अधिवेशनमा एक ठाँउमा उभिए पनि यसपल्ट कैलाली जिल्ला अधिवेशनमा भने भट्टलाई थापा, राना र रावलले भाउ नदिएको जानकारहरु बताउँछन । एकता प्रक्रियाका साथिहरु स्याटल गर्न डेजी पाण्डे नेतृत्वको टिममा नअटाएपछि भट्टले दुर्गा प्रसाद जोशीलाई अघि सारेर छुट्टै प्यानल बनाउनु परेको भट्ट निकट एक जना नेताले दृष्टिलाई बताए ।

हार पछि सामाजिक सञ्जालमा रोइलो
नेकपा एमालेको सुदूरपश्चिमको फस्ट म्यानको साथ रेहेको टिमको भारी पराजय पछि यस टिमका नेताहरुले सामाजिक सञ्जालमा दुख मनाउ गरेका छन । टिमका संयोजक गोकर्ण भट्टले गिरी दिपेनको स्टाटसमा यस्तो कमेन्ट लेखेका छन ‘जिल्ला अधिवेशन ६ दिनसम्म लम्ब्याउने जुन काम भयो त्यसभित्र षडयन्त्रका तानाबना बुन्ने काम भयो ।’

त्यसै गरी उक्त टिमका पराजित अध्यक्षका उम्मेदवार दुर्गा प्रसाद जोशीले अनुशासन को न्यायधिस हूँ भन्ने अनुशासनमा बस्न नसक्ने भनेर स्टाटस लेखेका छन । भट्ट टिमबाटै सचिवमा पराजित दानबहादुर विश्वकर्मा चित्रणले ‘सम्मानको सिमा र अपमानको हद मेसो जिन्दगीको’ भनेर स्टाटस लेखेका छन उनले अर्को स्टाटसमा ‘मर्ने बेलाको सम्भार सक्किने बेलाको फारु सोचनिय विषय’ भनेर लेखराज भट्ट टिमप्रति असन्तृष्ट व्यक्त गरेका छन ।

चित्रण दोश्रो पल्ट सचिवमा पराजित भएका हुन । यसअघि २०७८ सालमा सम्पन्न आठौ अधिवेशनमा पनि पराजित भएका थिए । उनी यसपल्ट जसरी पनि सचिवमा जित निकाल्नु पर्छ भन्नेमा थिए तर यज्ञ वा डेजीको टिमसंग गठबन्धन गरे मात्र एकता प्रक्रियाका साथिहरुको व्यवस्थापन हुन सक्छ भन्ने अडान चित्रणको थियो तर अन्तिमसम्म पनि भट्ट टिमले निर्णय गर्न नसक्दा नोक्सानी बेहोर्नु परेको आशय चित्रणको स्टाटसमा देखिन्छ ।

धाँधली भएको भन्दै पाँच दर्जन उजुरी
जिल्ला कमिटी सदस्यमा पराजित भएका करिब पाँच दर्जन उम्मेद्वारहरुले पुनः मतगणनाको माग राख्दै अधिवेशनको निर्वाचन कमिटी, एमाले कैलाली जिल्ला इन्चार्ज र विजय सुब्बा प्रमुख रहेको केन्द्रीय निर्वाचन आयोगमा निवेदन दिएका छन। अधिवेशनमा खटिएको निर्वाचन टिम डेजी पाण्डे नेतृत्वलाई सघाइरेका नेता कर्ण थापा, नारदमुनी राना र झपट रावल निकट शिक्षकहरु रहेको बताइन्छ ।

माथि अध्यक्षमा अनपेक्षित पराजय भोगेपछि जिल्ला कमिटीमा आफ्नो गुटको बहुमत पुर्याउन हारेका उम्मेदवारहरुको अंक बढाई जिताएको आरोप पिडितहरुले लगाएका छन । अधिवेशनका प्रमुख निर्वाचन अधिकृत मन बहादुर जोराले जितेका यज्ञ र दुर्गाका टिमका सदस्यहरुको अंकमा हेराफेरी गरेर डेजी पाण्डे टिमबाट हारेकाहरुको अंक बढाई जिताएको भन्दै उजुरी परेको हो ।

उजुरीकर्ताहरुले पुनः मतगणना नगरिए पुनरावेदन अदालत दिपायलमा रिट दायर गर्ने तयारी थालेका छन । गत असोजमा भएको प्रदेश अधिवेशनमा पनि मन बहादुर जोरा नै प्रमुख निर्वाचन अधिकृत थिए । पछिल्लो समयमा उनी एमालेका अधिकांश अधिवेशनहरुमा निर्वाचन गराउने जिम्मेवारीमा रहन्छन ।

प्रदेश अधिवेशनमा पनि हारेकालाई अंक बढाएर जितेको घोषणा गरेको भनि जोराको चर्को विरोध भएको थियो । कर्ण थापा, नारदमुनी राना र झपट रावलकोमात्र कुरा सुन्ने जोराले यी नेताहरुले हारेकालाई अंक थपेर जिताउन दिएको लिस्ट अनुसार विजयी सदस्यकहरुको नाम घोषणा गरेको धनगढीमा चर्चा छ । जोरा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक हुन ।

यज्ञलाई रतन थापा बनाइदिने डर
आठौं जिल्ला अधिवेशनबाट निर्वाचित रतन थापालाई जालझेल पूर्वक हटाएर उक्त कमिटीका उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष बनाइ दुई बर्ष कैलालीको पार्टी सञ्चालन गर्दा पार्टी तहसनहस भएको चिन्ता कार्यकर्ता पंङ्तिमा छँदैछ । तर जसरी हारेकालाई जितेको बनाई जिल्ला कमिटीमा हुल्न थालेपछि रतन थापा कार्वाही प्रकरणका माष्टर माइन्डको पुनरावृति भएको कैलालीका एमालेजनले महसुस गर्न थालेका छन ।

कमिटिमा बहूमत पुर्याई यज्ञ ढुंगानालाई कदम कदममा असहयोग गर्ने र बढीमा एक बर्ष भित्र अध्यक्षबाट हटाई छाडने षडयन्त्रको तानाबाना बुन्न थालिएको चर्चा कैलालीमा छ । त्यसपछि हाल उपाध्यक्षमा निर्वाचित लोकेन्द्र शाहीलाई कार्यवाहक अध्यक्ष बनाई पर्दा पछाडीबाट कैलालीको पार्टी चलाउने ग्राण्ड डिजाईन लिक भएको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्