Logo
Logo

पूर्वयुवराज पारसले स्कूल बसमा पेस्तोल ताकेको आरोप


43.9k
Shares

काठमाडौं । चितवनमा पूर्वयुवराज पारस शाहले स्कूल बसमा पेस्तोल ताकेको आरोप लागेको छ । भरतपुर क्रिकेट क्लबको अध्यक्ष अनिल अधिकारीले आफ्नो बच्चा पढाइरहेका सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बसमा पारसले गत बुधबार पेस्तोल ताकेको दाबी गरेका छन् ।

अधिकारीको अनुसार भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस गत बुधबार सधैँजस्तो आफ्ना विद्यार्थी बोकेर घरघर पुर्‍याउन गइरहेको थियो । सोही नगरपालिकाको वडा नम्बर ८ मा पर्ने गौरीगञ्ज सल्यानी रुटमा विद्यार्थी झारेर बस मोडिन आँट्दा पछाडि कालो रङ्गमा आइरहेको गाडी रोकियो । गाडीले हर्न बजायो । गाडी घुमाउन अलिबेर लागेपछि एक व्यक्ति कारबाट झोक्किँदै बाहिर निस्किए । उनले ड्राइभरलाई थर्काउँदै गाडीतर्फ पेस्तोलसमेत ताकेको प्रत्यक्षदर्शीको भनाइ छ । उनी पारस शाह नै भएको ठोकुवा समेत गरिएको छ ।

उनले लेखेका छन्, ‘चितवनको सनराइज स्कूलको विद्यार्थी बोकिरहेको स्कूल बस ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दूक देखाएर तथानाम गाली गरेको घटनाको विषयमा स्कूलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी लिएर फोनबाट चितवन प्रहरी प्रमुख भाबेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनको पार्टी सभापति राजेश्वर खनाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार, नेताहरू जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, कृष्णराज लब्लीलाई जानकारी गराएको छु । केही विद्यार्थी र युवा नेताहरूलाई घटनाको जानकारी छ । सनराइज स्कूलको विद्यार्थी तथा स्टाफहरू सबलाई थाहा छ । उनीहरू सबै बोल्न डराइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन् ।’

उनले यसबारेमा जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताएका छन्। उनले भने, ‘हामीले घटनाबारे सबै जानकारी प्रहरीलाई गराइसकेका छौँ । यसबारेमा हामीले भन्दा पनि प्रहरीको अनुसन्धानबाट थाहा होला ।’

चितवन प्रहरीले यसबारे कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता ११ दिन परिवारसहित चितवन पुगेका थिए । चितवन राष्ट्रिय निकुञ्ज घुमघामदेखि देवघाट दर्शन गरेर पूर्वराजपरिवारको १८ जनाको जम्बो टोली गत शुक्रबार काठमाडौँ फर्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस्