
काठमाडौं । संघीय राजधानी काठमाडौं कै संसद् भवन र देशको प्रशासकीय केन्द्र सिंहदरबारसहित केही ठाउँमा नागरिकलाई हिँड्नसमेत रोक लगाइएको छ ।
संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार नागरिकबाटै सुरक्षित नभएको निष्कर्ष निकाल्दै सरकारी निकायले ती क्षेत्रका फुटपाथमा हिड्न रोक लगाएको हो । ती क्षेत्रमा डोरी, जाली र कपडाको छेकबार गरी हिड्न नमिल्ने बनाइएको छ भने पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका छन् ।
कारण देखाइएको छ– लघुवित्तका ऋणी र मिटरब्याज पीडितको आन्दोलन । त्यही समूहमध्येका लघुवित्तका ऋणी महिला समूहले सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेर नारा जुलुस गरेका थिए ।
संसद् भवनको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका ‘गुप्तचर’ र नेपाली सेनाको इन्टेलिजेन्स ब्यारेट्रल जर्नल अफ मिलिट्री इन्टेलिजेन्स (डीजीएमआई)को टोली समेत खटाइएको हुन्छ । तर, ५० जनाको समूह संसद भवनभित्र प्रवेश गर्न त्यहाँ पुगेको सूचना उनीहरुले पाउन सकेनन् । जसकारण प्रदर्शनकारीहरु सजिलै बल प्रयोग गरेर संसद् भवन परिसरभित्र पुगे ।
त्यसपछि सरकारले प्रहरी परिचालन गरेर फुटपाथबाट हिँड्न राेक लगाएकाे छ । पैदलयात्रीहरू जोखिम मोलेरै कालोपत्रे सडकमा हिँड्न बाध्य छन् । हिजो नयाँ बानेश्वरमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानाले आफूले सुरक्षा निकायबाट सास्ती भोग्नुपरेको गुनासो गरे ।
सुरक्षा निकायले आवश्यक रणनीति बनाउनुको सट्टा संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बाहिर पैदलयात्रीलाई रोक्ने प्रयास गरेको भन्दै उनले सरकारको आलोचना गरे ।
यसबाट पैदलयात्रु, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकालगायत समस्यामा परेका छन् ।
यसअघि नै सिंहदरबार क्षेत्र माइतीघरदेखि बानेश्वरसम्म, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालतहुँदै माइतीघरको चारैतर्फ र बबरमहलसम्म, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र तोकिएको थियो ।
त्यस्तै राष्ट्रपति कार्यालय शीतल निवास क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार तथा आसपासका क्षेत्रमा पनि निषेधाज्ञा छ । ललितपुरमा मन्त्री निवाससहित वरपरका क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा तोकिएको छ ।
भीभीआईपीको आगमन हुने यी क्षेत्रमा सुरक्षा निकाय निदाएको यो घटना भने पहिलो होइन । यसअघि २ महिना अघिमात्रै १६ पुसमा देशको प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको गेटअगाडि अर्ध नग्न युवाहरुको समूह पुगेको थियो । संवेदनशील सुरक्षा घेराबीच उनीहरु सिंहदरबारभित्रै छिरेर विरोध प्रर्दशन गरेका थिए ।
यस्ता घटनाले राज्यको सुरक्षा व्यवस्थालाई उदाङ्गोमात्रै पारेको छैन, सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने संसद भवन र सिंहदरबारभित्रै छिरेर प्रदर्शन गर्नुलाई सामान्य मान्न सकिँदैन । अहिले सुरक्षा निकायले सुरक्षित गर्न नसकेका यी क्षेत्रमा टाँगिएका डोरीले सुरक्षा दिन सक्ला ? भन्दै चौतर्फी सरकारको आलोचना समेत हुन थालेको छ ।














