Logo
Logo

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको फागुन २१ गते शपथ


378
Shares

काठमाडौ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथ कार्यक्रम फागुन २१ गते हुने भएको छ । संघीय संसद सचिवालयले सूचना जारी गर्दै फागुन २१ गते बिहान साढे ११ बजे संघीइ संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शपथ हुने जानकारी गराएको हो ।

राष्ट्रियसभा सदस्यका लागि गत माघ ११ गते भएको निर्वाचनबाट १९ जना निर्वाचित भएर आएका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा एक चौथाइ सांसद प्रत्येक दुई वर्षमा चुनिएर फेरिन्छन् ।

२०७४ सालमा निर्वाचित भएका सांसदहरुमध्ये गोलाप्रथाद्वारा ६ वर्षे कार्यकाल भएकाहरु यही फागुन २० गतेबाट बिदा हुँदैछन् । उनीहरुको ठाउँमा निर्वाचित भएकाहरुको शपथ फागुन २१ गते हुन लागेको हो ।

माघ ११ गतेको चुनावबाट राष्ट्रियसभामा कोशी प्रदेशबाट नेपाली कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला, मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भएका छन् ।

यस्तै, बागमतीबाट कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, कर्णाली प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशबाट माओवादीकी रेणु चन्द, कांग्रेसका नारायण भट्ट र कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्