
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले छोरीको नगरपालिका कहाँ छ भन्दै प्रश्न गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्री संसद बैठक छाडेर छोरीको नगरपालिकामा गएको टिप्पणी गरेपछि कांग्रेस सांसद खतिवडाले कहाँ पर्ने रहेछ छोरीको नगरपालिका ? भन्दै प्रश्न गरेका हुन् ।
उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको भन्दै व्यङ्ग्य गरे । ‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो । तर छोरी नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दो रहेछ । म सभामुख महोदयमार्फत भन्ने मान्य सदस्यलाई अनुरोध गर्न चाहान्छु, नयाँ नामाकरण भएछ, यो नेपालको कुन नगरपालिका रहेछ ? जानकारी पाए म खुसी हुने थिएँ’, उनले भने ।
विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग गरिरहेका छन् । सभामुखले यसअघिको बैठकमा १८ फागुनमा सदनमा उपस्थित भएर विपक्षी दललाई जवाफ दिन सरकारलाई रुलिङ समेत गरेका थिए ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद बैठक छाडेर ‘भरतपुर भ्रमण वर्ष’को उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन पुगेपछि एमाले सांसद थापाले प्रचण्ड छोरीको नगरपालिकामा गएको टिप्पणी गरेका थिए । सो क्रममा उनले प्रधानमन्त्री संसदमा नआई हराएको भन्दै खोजी गर्न समेत सभामुखको ध्यानाकर्षण गराएका थिए ।














