
काठमाडौं । काठमाडौं महानगरपालिकाले चलाएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रबाट नविनतम सिर्जना उत्पादन हुन थालेको भन्दै मेयर बालेन्द्र शाहले खुशी व्यक्त गरेका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ अभियान सुरु गरेको छ । यो कार्यक्रमबाट विभिन्न नयाँ सिर्जना उत्पादन हुन थालेको भन्दै मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत् खुशी व्यक्त गरेका हुन् ।
साथै उनले महानगरपालिकाको वडा नम्बर ५ स्थित टंगाल माध्यमिक विद्यालयका ७ र ८ कक्षामा अध्ययनरत बालबालिकाले तयार पारेका केही प्रविधिको तस्बिर सेयर समेत गरेका छन् ।
‘वडा नं ५ को टंगाल माध्यमिक विद्यालयको कक्षा ७ र ८ मा अध्ययरत बालबालिकाहरुले रिमोटबाट सञ्चालन हुने सामान ओसार्ने हवइ जहाज, एअर एम्बुलेन्स, हाइड्रो (जल विद्युत) प्रणाली, क्युव स्याटसाइट, स्मार्ट ब्रिजजस्ता बिज्ञान र प्रविधिमा आधारित मोडल तयार पारेका छन्,’ उनले भनेका छन्।
सामाजिक क्षेत्रका क्रियाकलापहरुमा परम्परागत भेषभुषाका नमूना बनाउने, नेवार समुदायमा प्रसादका रुपमा ग्रहण गरिने समय बजी (माछा, अण्डा, बारा, राग, छोइला, छुस्यामुस्या, भुटी) बनाउने काम पनि विद्यार्थीले गरेका उनले बताएका छन्।
विद्यार्थीले व्यवहारिक सिपका क्षेत्रमा हाउस वायरिङ्ग गर्ने, खाना बनाउने (पाक शिक्षा) लगायतका सिप सिकेर विद्यालयमा प्रदर्शन गर्न थालेका छन् ।
गएको वर्षबाट थालिएको कार्यक्रममा विद्यार्थीको रुचि देखिएपछि चालु शैक्षिक सत्रमा निरन्तरता दिँदै लगानी बढाइएको पनि उनले बताएका छन् । महानगरपालिकाले कार्यक्रम हरेक शुक्रबार सञ्चालन गरिरहेको छ ।














