Logo
Logo

विद्युतीय गाडीको आकर्षण बढ्दो, ७ महिनामै भित्रियो साढे १९ अर्बको गाडी


1.3k
Shares

काठमाडौं । पछिल्लो समय विद्युतीय गाडीको आकर्षण बढ्दो छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो ।

बजारमा विद्युतीय गाडीको माग बढेसँगै आयात पनि बढेको छ । भन्सार विभागको पछिल्ले तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् ।

गत वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा दुई अर्ब ७० करोड ६१ लाख ४६ हजार रुपियाँभन्दा बढीको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो ।

अन्य वस्तुको आयात घटिरहेका बेला विद्युतीय सवारी साधनको आयातमा उल्लेख्य वृद्धि भएको हो । सात महिनामा सबैभन्दा धेरै चीनसँगको व्यापारिक उत्तरी नाका रसुवाबाट विद्युतीय सवारी साधनको आयात भएका छन् ।

रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात (साउन–माघ) महिनामा सो नाकाबाट मात्र दुई हजार ४९३ वटा विद्युतीय गाडी आयात भएका छन् । सात अर्ब ३६ करोड ८४ लाख ३६ हजार रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएका हुन् ।

भन्सार कार्यालयका अनुसार चालु आवको ७ महिनामा रसुवा नाकाबाट ३२ अर्ब ९६ करोड २८ लाख रुपियाँको सामान आयात भएको छ । जसमा सबभन्दा बढी विद्युतीय गाडी आयात भएको भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले बताए ।
उनका अनुसार सो नाकाबाट नेपाली व्यवसायीले चीनबाट सबैभन्दा धेरै ‘बिवाइडी’ विद्युतीय गाडीको आयात गरेका छन् । अन्य सवारी साधनको तुलनामा विद्युतीय सवारीको लागत खर्चसमेत कम पर्ने हुँदा यसको प्रयोग बढ्दै गएको उपभोक्ताको धारणा छ ।

पेट्रोल, डिजल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको मर्मत खर्च एकदमै कम हुनुका साथै टायर, ब्याट्री, सर्भिसिङ र सरसफाइ खर्च मात्रै लाग्ने भएकाले विद्युतीय सवारी साधनको ‘मेन्टेनेन्स खर्च’ अन्य सवारी साधनको तुलनामा कम लाग्ने गरेको व्यवसायी बताउँछन् ।

विद्युतीय सवारी साधनले पेट्रोल, डिजेल सवारी साधनले जस्तो वातावरण र मानव स्वास्थ्यलाई असर पु¥याउने कार्बोनमोनोक्साइड ग्यास पनि उत्सर्जन नगर्ने हुनाले विद्युतीय सवारी साधन वातावरणमैत्री रहेको छ ।

प्रतिक्रिया दिनुहोस्