
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सेरबहादुर देउवाले नवनियुक्त मन्त्रीको सपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार सानो आकारको मन्त्रीपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देवालाई निम्तो दिएका थिए ।
तर सोमबार साँझ आयोजना गरिएको सपथग्रहण कार्यक्रममा सत्तासमीकरण फेरबदलपछि बनेको प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले उपस्थित नभएका हुन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथग्रहण गराएका थिए ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।














