Logo
Logo

वाम गठबन्धनको ‘कोर्स करेक्सन’


1.2k
Shares

काठमाडौं । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै वाम गठबन्धनको कोर्स सुरु भएको छ । वाम गठबन्धनका लागि नेकपा एमाले र नेकपा माओवादीले पहलकदमी लिने बित्तिकै नेपालका सबै वामपन्थीहरू एक ठाउँमा उभिनेगरी नयाँ कोर्स आरम्भ हुन लागेको हो ।

नेकपा एमालेको सचिवालय बैठकले नयाँ गठबन्धन बनाउन माओवादी अध्यक्ष तयार भए एमालेले साथ दिन सक्ने निर्णय गरेपछि माओवादीले नेकपा एकीकृत समाजवादीलाई साथमा लिएर जानुपर्ने नयाँ प्रस्ताव राखेको छ ।

माओवादीले विगतका गल्ती कमजोरीलाई स्विकारेर नयाँ गठबन्धनको सुरुवात भएको जनाएको छ । तर, एमालेले भने यो विषयमा केही बोलेको छैन । सत्ता र शक्तिमा मात्रै उसको ध्यान गएको छ । माओवादी कांग्रेससँग असन्तुष्ट हुनुका पाँच कारण छन् ।

पहिलो, कोशी प्रदेशमा कांग्रेसको विद्रोह, कोशीमै राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीको हार, तेस्रो, भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई हटाउन कांग्रेस सभापति शेरबहादुर देउवा तयार नहुनु, चौथो, असफल साबित भएका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउन देउवा तयार नहुनु र राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई समर्थन नगर्नुका कारण माओवादी कांग्रेससँग असन्तुष्ट बनेको स्रोतले बताएको छ ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरे । ‘वामपन्थी दलहरू एक होउन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो ।’ विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको उनको भनाइ छ ।

‘कुनै न कुनैबेला ‘ब्रेक थ्रु’ गर्न त्यस्तो समयको आवश्यकता पर्छ,’ उनले भने, ‘राजनीतिक यात्रामा अवरोध आएपछि नयाँ अध्याय सुरु हुन्छ, यो कुनै नयाँ विषय होइन, बीचमा केही टुटेको थियो, यो विगतकै निरन्तरता हो ।’

एमालेसहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहने उनको भनाइ छ । ‘समाजवादी मोर्चामा रहेका अन्य दलका शीर्ष नेता पनि वामपन्थी नै हुनुहुन्छ, सबै पार्टीलाई सँगसँगै लिएर अघि बढ्छौं,’ सचिव पौडेलले भने ।

नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर सरकार सञ्चालनमा देखिएको समस्याबारे अवगत गराएपछि देउवाले त्यतिबेला जुनसुकै कदम चाल्न आफू तयार रहेको जनाकारी गराएका थिए ।

कांग्रेसका मन्त्रीहरूले सत्ता गठबन्धनभित्र माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीसँग अस्वाभाविक रुपमा भेटघाट गरिरहेको र राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई नदिने गरी गठबन्धन भत्काउन लागिपरेको ब्रिफिङ गरेका थिए । साथै, उनीहरूले गठबन्धन जोगिने अवस्थामा सामूहिक राजीनामा दिने पनि बचन दिएका थिए ।

कांग्रेसका मन्त्रीहरूले सभापति देउवासँग छलफल गरिरहेको अवस्थामा एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग प्रधानमन्त्रीले छुट्टा छुट्टै छलफल गरेका थिए । आइतबार साँझ ओली र लामिछानेसँग प्रधानमन्त्रीले छलफल गरेको सुइको पाएपछि देउवाले मन्त्रीहरूको राजीनामा रोकेका थिए ।

प्रचण्ड–ओली भेटघाट सकिएपछि माओवादीका नेताहरू वर्षमान पुनलगायत बालुवाटार पुगेर छलफल गरेका थिए । उता बालकोटस्थित ओली निवासमा एमालेका नेताहरूले आइतबार राती ओलीसँग पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए । एमाले नेताहरू ईश्वर पोखरेल लगायतका शीर्ष नेताहरू बालकोटको छलफलमा सहभागी भएका थिए । उता माधव नेपाल निवासमा पनि नेकपा एकीकृत समाजवादीका नेताहरूबिच छलफल भएको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने तयारी भएपनि कांग्रेसकै कारण रोकिएको प्रधानमन्त्रीको बुझाइ रहेपछि गठबन्धन तोड्न माओवादी तयार भएको थियो ।

एमालेले यसअघि असहमति जनाउँदै आएको गम्भीर मानव अधिकार उल्लंघनको घटनाको परिभाषामा दोहोरो भिडन्तमा मृत्यु भएका बाहेक ‘स्वेच्छाचारी’ रूपले गरेको हत्या भन्ने विषयमा नियतवश भन्ने अर्को शब्द थप गरेर अगाडि बढाउन सहमति जनाएको थियो । तर, कानुनमन्त्री धनराज गुरुङले थप छलफल गर्ने भन्दै रोकिदिएका थिए । कानुनमन्त्री गुरुङको यो कदमले पनि प्रधानमन्त्री प्रचण्ड हच्किएका थिए ।

आइतबार दिउँसो संसदीय समितिमा टीआरसी विधेयक रोकिएपछि प्रधानमन्त्रीसँग माओवादीका नेताहरूले कांग्रेससँगको सहकार्य टुटाउन दबाब दिएका थिए । लगत्तै एमालेसँग नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले छलफल गरेका थिए । राती अबेरसम्म एमाले नेताहरूले माओवादीसँग छलफल गरेका थिए । त्यसकै परिणाम सोमबार बिहान अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले माओवादीसँग सहकार्य गर्ने निर्णय गरेको थियो ।

एमाले बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढंगले छलफल गर्न तयार रहेको ब्रिफिङ भएको थियो । ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुप¥यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ’, बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए- ‘सत्ता गठबन्धनमा संकट बढेको छ । केही नयाँ घटना विकास हुने संकेत देखिएको छ ।’ उनले यसो भनेको केही घण्टामै नयाँ समीकरण बनेको थियो ।

एमाले अध्यक्ष ओलीले धोका हुने गठबन्धन गर्न आफूहरू तयार नभएको बताएपछि प्रचण्डले अब धोका नहुने बचन दिएका थिए । एमाले–माओवादीको नयाँ समीकरण बन्ने अवस्थामा शेरबहादुर देउवा सोमबार बिहान बालुवाटार पुगेका थिए । त्यसक्रममा प्रचण्डले देउवालाई सत्ता गठबन्धन टुक्रने निश्चित भएको बताउँदै अब कोसिस नगरौँ भनेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रचण्ड र देउवाबीचको वान–टु–वान वार्तामा प्रचण्डले ‘इट्स टु लेट’ भनेर देउवालाई बिदा गरेका थिए । यसअघि सोमबार बिहान हुने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै अहिलेको राजनीतिक उतारचढावलाई सहमतिमा लैजाने अन्तिम प्रयास स्वरूप देउवा बालुवाटार गएका थिए ।

देउवासँग पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का पनि सहभागी भएका थिए । खड्कासँग पनि प्रचण्डले अब ढिला भइसकेको र आफूहरू अगाडि बढेको जवाफ दिएका थिए । देउवासँग छलफलमा बस्नुअघि माओवादीका शीर्ष नेताहरूले छलफल गरेका थिए । आइतबार बेलुकी माओवादी, एमाले, रास्वपा र जसपाका नेताहरू बसेर नयाँ सत्ता गठबन्धनका लागि छलफल गरेपछि प्रचण्डले देउवालाई यस्तो जवाफ दिएका हुन् ।

२०७९ पुस १० गते एमाले माओवादीसहित बनेको समीकरणलाई भत्काएर कांग्रेससँग समीकरण गराउन सफल भएका माधवकुमार नेपाललाई अहिले प्रचण्डले धोका दिएका छन् । कांग्रेस माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसहित बनेको समीकरणले एक वर्षपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो ।

त्यो गठबन्धन एक वर्षमा टुटाएर माओवादी अध्यक्ष प्रचण्डले एमालेसँग नयाँ समीकरण गरेका छन् । तर, सत्ताको नेतृत्व गरिरहेको दल माओवादीले भने अहिलेको गठबन्धनमा नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेट्नुपर्ने पक्षमा उभिएको छ । माओवादी सचिवालय बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एकीकृत समाजवादीलाई पनि समेट्ने निर्णय भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्