Logo
Logo

संकटमा मधेश सरकार


1.2k
Shares

काठमाडौं । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै मधेस प्रदेश सरकार संकटमा परेको छ । सोमबार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनेसँगै मधेस प्रदेश सरकार संकटमा पर्ने देखिएको हो ।

मधेस प्रदेशसभामा कुल सदस्य संख्या १ सय ७ कायम छ । त्यहाँ सरकार बनाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ । तर, वर्तमान नयाँ गठबन्धनसँग ५२ जना प्रदेशसभा सदस्य मात्रै रहेकाले जसपा नेतृत्वमा रहेको सरकार संकटमा पर्ने देखिएको हो ।

नयाँ गठबन्धनमा चार दल भएपनि रास्वपाको प्रदेश सांसद नरहेकाले मधेसमा एमालेका २४, जसपाका १९ र माओवादी केन्द्रका ९ गरी ५२ सांसद मात्र छन् । एमालेकै रामचन्द्र मण्डल सभामुख रहेकाले गठबन्धनमा थप एक सदस्यको समर्थन कम हुनेछ । गठबन्धन दलबाहेकका अन्य दल र एक स्वतन्त्र सांसद मिलेमा ५५ प्रदेशसभा सदस्यको समर्थनमा सहजै सरकार बन्ने भएकाले नयाँ गठबन्धनलाई मधेसमा सत्तामा रहिरहन समस्या हुने भएको हो ।

नेपाली कांग्रेसलगायतका दलले एमाले–माओवादी गठबन्धनबाहेकका दललाई एकजुट गर्न सके मधेसमा सहजै सरकार बनाउने अवस्था पनि छ । चारदलीय गठबन्धनबाहेकका नेपाली कांग्रेससँग २२, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ जना सांसद छन् । यस्तै, एक स्वतन्त्र सांसद छन् । लोसपाका एक सांसद फरार रहे पनि गठबन्धनबाहेकका दलहरू मिले सरकार बनाउन कुनै समस्या नहुने देखिएको हो ।

मधेसमा हाल जसपाकै नेतृत्वमा सरकार छ । त्यहाँ जसपाबाट सरोजकुमार यादव मुख्यमन्त्री छन् । हाल सरकारमा रहेका नेपाली कांग्रेसका मधेस प्रदेशका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णा यादवले पार्टीको केन्द्रीय नेतृत्वले भनेअनुसार सरकारबाट बाहिरिने वा रहने भन्ने निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्