Logo
Logo

मेरो सरकारलाई प्रश्न


- शम्भु श्रेष्ठ


 –  शम्भु श्रेष्ठ 
कोरोनाको डरले मानिसहरु घरघरमा त बसेका छन् । तर, तिनीहरु घरमा पनि कति सुरक्षित छन् भन्ने हो । फ्रान्सबाट फर्किएकी एक किशोरीलाई संक्रमण भएपछि पुष्टि भएपछि सिंगो देश थप त्रसित बनेको छ । बजार एकाएक बन्द भएको छ ।

साबुनपानीले पटक–पटक हात धुने, हाछ्यँु गर्दा मुख छोप्ने र बाहिर हिँड्दा ‘मास्क’ लगाउनेहरुको संख्या त बढ्दै छ, तर त्यसरी सावधानी अपनाउँदा पनि ‘कोरोना’बाट सुरक्षित भइनै हालिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । कोरोनाबाट जोगिन अहिले हामीले जे जस्ता सुरक्षाका उपाय गरिरहेका छौँ, त्यो भन्दा बढी सुरक्षा त चीन, अमेरिका, फ्रान्स, बेलायत र जर्मनीका नागरिकहरुले बच्चैदेखि अपनाएका विधि हुन् । तर, पनि ती देशका सरकार र जनतालाई कोरोनाले हल्लाइरहेको छ ।

विश्वभर कोरोनाले महामारी रुप लिँदा नेपालमा भने सामान्य अवस्था नै छ । सरकारी सञ्चारमाध्यम र मन्त्रीका भाषणहरु सुन्ने हो भने डराउनुपर्ने अवस्था छैन । त्यसैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सार्क भिडियो कन्फ्रेन्स’ नगर्दासम्म नेपाल–भारत सीमानाका खुल्लै थियो । चीनलगायतका अन्तर्राष्ट्रि«य उडान पनि नियमित नै थियो । होटल, विवाहको भोजभतेर पनि मज्जैसँग चलिरहेको थियो । यतिबेलासम्म एक जना मानिस पनि कोरोनाबाट संक्रमित नहुनुलाई बडो आश्चर्यका रुपमा हेरिएको थियो । कोरोना आशंकामा टेकु अस्पताल पुगेका बिरामीहरुमा संक्रमण नभेटिएको खबरले त सबैलाई खुशी नै तुल्याएको थियो । त्यसैले सरकार पनि ढुक्कै थियो । जब कोरोना संक्रमित मानिस भारतमा मृत्यु भएको खबर आयो, तब सबै जना झस्किए । भारतमा मोदीले जनता ‘कफ्र्यु’ घोषणा गर्नासाथ खुला सीमाबाट लाखौँ मानिस भित्रिए । सरकारले भनेझै सीमा नाकामा स्वास्थ्यकर्मीको चेकजाँचले पनि त्यो भीड थाम्न सकेन । ढिलै भए पनि सीमानाका बन्द भएका छन् । त्यसले केही ढुक्क त बनाएको छ, तर भारतबाट नेपाल आउनेहरु कोरोनाबाट कति सुरक्षित छन् भन्ने चिन्ता सबैमा छ ।

यदि कोरोनाले देशैभरि व्यापक रुप लियो भने उपचार विधि के छ ? जिल्लातिरका अस्पतालहरुमा कोरोना जाँच्ने ‘किड’ छैन भनिएको छ । केही व्यापारीहरुले सरकारलाई दिन आयात गरेको ‘किड’ नयाँदिल्लीमा अलपत्र परेको छ । स्वास्थ्य मन्त्रालयले ती किड आयात गर्न अनुमति दिएको छैन । सरकारसँग भएका केही ‘किड’ भीआईपीका लागि भनेर टेकु अस्पतालमा सुरक्षित राखिएको सूचना चुहिएको छ । त्यसैले काठमाडौंका सीमित अस्पतालमा मात्र होइन, जिल्ला–जिल्लाका सरकारी र निजी अस्पतालहरुमा कोरोनाको उपचार सर्वसुलभ बनाइनुपर्छ ।

किनभने सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएपछि काठमाडौंबाट लाखौँ विद्यार्थी र अन्य पेशाकर्मी बाहिरिएका छन् । कोरोनाको डरले रातारात बाहिरिएका ती मानिसहरुको स्वास्थ्य अवस्था कस्तो छ ? त्यतातिर पनि प्रदेश, स्थानीय सरकारको ध्यान जानु जरुरी छ । ‘क्वारेन्टाइन’ तयारीले मात्र उपचार हुन सक्दैन । संक्रमित बिरामीलाई आवश्यक उपकरणहरु पनि चाहिन्छ । सुनिँदैछ, नेपालका अस्पतालहरुमा ‘भेन्टिलेटर’को अभाव छ । वृद्धा र दीर्घरोगीमा कोरोना संक्रमण भयो भने भेन्टिलेटरको आवश्यकता पर्छ ।

बाँच्न पाउने नागरिकको अधिकार हो । अकालमा कसैले पनि जीवन गुमाउनु हुँदैन । चीनको उहान शहरबाट सुरु भएको यो भाइरसबारे नेपालले समयमै सजगता अपनाएको देखिएन । नेपाल भ्रमण वर्ष पनि धेरै समयपछि स्थगित गरियो । स्कूल, कलेज पनि समयमै बन्द गरिएन । सार्वजनिक यातायातको साधन अहिले पनि काठमाडौँमा निर्धक्क गुडिरहेका छन् । ती सवारी साधनमा भाइरस नियन्त्रण गर्ने कुनै पनि प्रविधि अपनाएको देखिँदैन । कतै काठमाडौँलगायतका प्रमुख शहरमा ‘जनता कफ्र्यु’ लगाउन ढिलो भयो कि मेरो सरकार ?

प्रतिक्रिया दिनुहोस्