Logo
Logo

‘सावधानी अपनाउनुस्, घरबाट बाहिर ननिस्कनुहोला’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ चैत । नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावनालाई ध्यानमा राखी मंगलबारदेखि अत्याश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ ।
सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि बिहानैदेखि प्रहरीको सक्रियता बाक्लिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम पब्लिकहरुबाट आदेशको पालना गरिरहेको पाइएको भन्दै जानी नजानी कतै पालना नगरेकालाई सम्झाइबुझाई गरेर फर्काएका बताए । उनले मुलुकभर नै आवश्यकतानुसार टोली परिचालन गरेर आदेशको पालनामा प्रहरी सक्रिय भएको जानकारी दिए । प्रदेश र स्थानीय तहका प्रहरी पनि आवश्यक क्षेत्रमा परिचालन भइरहेको उनले बताए ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि प्रहरी चोकचोकमा खटिएर सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । प्रहरीले उपत्यकाका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ । ‘सावधानी अपनाउनुहोला, घरबाट ननिस्किनुहोला’ भन्दै प्रहरीले खुलेका पसलसमेत बन्द गर्न भनिरहेको छ ।
ट्राफिक प्रहरी पनि आवश्यक व्यवस्थापनमा बिहानैदेखि खटिएको छ । महानगरीय प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सरकारी आदेशको पालनाका लागि सम्पूर्ण ट्राफिक जनशक्ति परिचालन गरिएको बताए । अत्यवश्यक सेवा र पासका गाडी मात्रै चलेकाले अन्य गाडी चल्नबाट रोक लगाइएको र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको उनले बताए ।
गत माघ ९ गते चीनको हुबेइ प्रान्तको वुहान शहरबाट आएका र यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपालमा आएका गरी दुई जनामा कोरोना लक्षण देखिए पनि नेपालमा अन्यमा संक्रमण भेटिएको छैन । सम्भावित जोखिम रोक्न सरकारले यही चैत १८ गतेसम्मका लागि उक्त आदेश जारी गरेको हो ।
सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­१९ को रोकथाम र निर्मूूल गर्न सोमबार अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो । आज बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म उक्त आदेश लागू हुनेछ ।
आदेशमा ‘औषधोपचार, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन’ भनिएको छ । अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने पनि आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्नेछ ।
स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुनेछन् । औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक र कर्मचारीलाई बिदा दिन आदेशमा भनिएको छ ।
औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गरिने तथा अभाव देखाई मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने आदेशमा भनिएको छ । जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्