रौतहट। रौतहटको मौलापुर नगरपालिकामा भगवान शिवको बारात यात्रा निकालिएको छ । भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको शुभारम्भ गर्न तामझामका साथ भगवान शिवको बारात (जन्ती) यात्रा निकालिएको हो ।
मौलापुर नगरपालिका–२, चिरचिरियाबाट निस्केको बारात यात्रा मौलापुर नगरपालिका– ५, पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको हो । बारात यात्रा संगै मधानी महायज्ञ २०८० को शुभारम्भ समेत भएको हो ।

बारात यात्राको नेतृत्व मौलापुरकी मेयर रीनाकुमारी साहले गरेकी थिइन् भने हजारौं सर्वसाधारण एवं भक्तजनको सहभागिता रहेको छ । पुरातन कालदेखि मधानी महायज्ञ आयोजना हुँदा भगवान शिवको बारात यात्रामा कमरथुवाहरु मात्र सहभागी हुँदै आएकोमा पहिलो पटक सर्वसाधारणले समेतको सहभागिता जनाएको हो ।

आम नागरिक सामिल भएको बारात यात्राले मधानी महायज्ञमा नयाँपन थपेको स्थानीयको भनाई रहेको छ । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महायज्ञ आयोजना गर्दै आएको छ ।

यस वर्षको मधानी महायज्ञको अवसरमा बलिवुडका सुपरस्टार गोविन्दा, भोजपुरी सुपरस्टार निलम गिरी, नेपाली सिनेजगतका सुपरस्टार पल साह, चर्चित निर्देशक दिनेश डिसी लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछ । मधानी महायज्ञमा १० लाख भन्दा बढी दर्शनार्थीले अवलोकन गर्ने आयोजको अनुमान छ ।


















