काठमाडौँ । कुनै बेलाको ‘गुण्डाराज’ काठमाडौंमा फेरि व्युँतिएको छ । कुनै बेला काठमाडौंमा गुण्डाहरुले आफ्नो एरिया नै तोकेर गुण्डागर्दी गदै आएका थिए । पछिल्लो समयमा ठिकै त्यसैगरी गुण्डाहरूले काठमाडौंमा गुण्डाराज सुरु गरेका छन् ।

पछिल्लो समयमा दरबारमार्ग एरियामा ‘काभ्रेली समूह’, काठमाडौँको थलीमा गुण्डा नाइके अरुण लामाको ‘अरुण समूह’, ठमेलमा घैँटे समूह, बौद्ध, कपन क्षेत्रमा चक्रे मिलन समूह सलबलाएका छन् । कुनै बेला प्रहरीले गुण्डाको ‘क’, ‘ख’, ‘ग’ भनेर सूची नै बनाएका थिए । उतिबेला ‘ग’ अर्थात् टोले गुण्डाको सूचीमा परेका धुम्बारही र कपन क्षेत्रका गुण्डा फेरि सक्रिय भएका छन् ।
आफूलाई चक्रे मिलन समूहका गुण्डा नाइके दाबी गर्ने ताप्लेजुङ घर भई धुम्बारही बस्ने सनम थेवेले एकपछि अर्को गुण्डागर्दी र हप्ताअशुली गरेको भन्दै व्यवसायीहरुले प्रहरीमा उजुरी गरेका छन् । व्यवसायीहरुका अनुसार मिटरब्याजमा लगाएका पैसा असुल्ने समूहको नेतृत्व गरीरहेका थेवेलेहोटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता अशुल्ने गरेका छन् । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भजिता दाबी गर्ने नरेश देउवाको संरक्षण उनले पाएका छन् । नरेश देउवाले आफू कांग्रेस सभापतिको भतिजा दाबी गर्ने गरेका छन् ।
थेवेले ‘नरेश दाइ’लाई भन्दै पैसा अशुल्ने गरेको व्यवसायीहरुको गुनासो छ । चक्रे मिलन समूहसँग आबद्ध थेवेले नरेश देउवाको साथ लिएर केही प्रहरी अधिकृतहरुसँग पनि सम्बन्ध जोडेका छन् । स्रोतका अनुसार व्यवसायीहरुलाई आफ्नो प्रहरी अधिकृतसँग पनि सम्बन्ध रहेको भन्दै धम्काउने गरेका छन् । केही पत्रकार, प्रहरी अधिकृत र थेवेको समूहले मिटरब्याजमा पैसा हाल्ने काम गरेका छन् ।
कपन, साँखु क्षेत्रका सबै जग्गा प्लटिङहरुमा आफू निकट गुण्डाहरुलाई पठाएर हप्ता असुलेपछि व्यवसायीहरुले प्रहरीमा पनि उजुरी गरेका छन् । स्रोतका अनुसार थेवेले कुन व्यवसायीहरुले कहाँ व्यापार गरीरहेका छन् ? भन्ने सूची तयार पार्छन् । उनले आफू बाहिर नै बसेर त्यहाँ समस्या सृजना गर्छन् । त्यसपछि पैसा असुल्छन् । स्रोतका अनुसार प्रहरीले उनलाई निगरानीमा राखेको छ ।
थेवे तिनै गुण्डा हुन्, जो प्रहरीले निकाल्ने सूचीमा जहिल्यै पर्छन् । प्रहरीले यसअघि सुरक्षा चुनौती दिन सक्ने १ सय ३१ गुण्डाहरुको सूचीमा पनि उनी थिए । महानगरीय प्रहरी कार्यालयले यसअघि पटक-पटक महानगरीय अपराध महाशाखासहित काठमाडौ, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित परिपत्र गर्दा यी थेवे पनिको नाम थियो ।
कुनै बेला काठमाडौंमा ‘गुण्डाराज’ चलेको थियो । गुण्डाराज अन्त्य गर्न प्रहरीले ‘इन्काउन्टर’ सुरु गरे । प्रहरीको कारबाहीमा कहलिएका गुण्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ मारिए । साजन महर्जन र अभिषेक गिरी जस्ता गुण्डाहरु थुनामा परे । २०७१ साउन २१ मा काठमाडौँको भीमढुंगामा तत्कालीन अपराध महाशाखाको टोलीले दिनेश अधिकारी ‘चरी’माथि गोली प्रहार गरेको थियो । २०७२ भदौ ३ मा प्रहरी इन्काउन्टरमा कुमार घैँटे मारिए । त्यसयता चुपचाप बसेका गुण्डाहरू काठमाडौँमा फेरि सलबलाएका छन् ।
***
सम्पादकीय नोट : यस समाचारप्रति थेबेले ध्यानाकर्षण जनाएका छन् । प्रकाशित समाचारसँग आफ्नो मेल नखाएको भन्दै थेबले खण्डन गरेका हुन् ।
सनम थेबेको खण्डन पत्र
श्री सम्पादक ज्यु
दृष्टि न्युज
तपाईहरुको लोकप्रिय अनलाइन दृष्टि न्युजमा मिति २५ फागुन २०८० मा ‘थेवेको गुण्डागर्दीले सीमा नाघ्दै…’ शिर्षकको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचारमा मलाई हप्ता असुली र गुण्डागर्दीको आरोप लगाएको छ । वास्तव म त्यस्तो कुनै गैरकानुनी काममा संलग्न छैन । म सदा नेपालको कानुन व्यवस्था मान्ने र सम्मान गर्ने मान्छे हु । दृष्टि न्युज जस्तो लोकप्रिय अनलाइनले त्यसप्रकारको समाचार प्रकाशित गर्दा दुख लागेको छ । उक्त समाचारको खण्डन गरिदिनहुन आग्रह गर्दछु ।
सनम थेवे
ताप्लेजुङ्ग हाल कपन
२८ फागुन २०८०














