Logo
Logo

रञ्जिता-रेशम मतभेदले नागरिक उन्मुक्तिबाट मन्त्री बनेकाको पद धरापमा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी र उनका श्रीमान् समेत रहेका नेता रेशम चौधरीबीचको मतभेद सतहमा आएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा रञ्जिता र रेशमले फरक–फरक निर्देशन दिएका हुन् । गत पुसमा भएको महाधिवेशनबाट रेशम नागरिक उन्मुक्तिको अध्यक्ष चयन भएका थिए । तर, निर्वाचन अयोगले वैधानिकता नदिएपछि रेशमको अध्यक्ष पद खोसिएको छ ।

यद्यपी उनकै निर्देशनमा नागरिक उन्मुक्तिबाट शुक्रबार तीन मन्त्रीले शपथ लिएका थिए । नागरिक उन्मुक्तिको दलका नेता चौधरी आर्थिक मामिलामन्त्री, खुसीराम डगौराथारू विनाविभागी र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त भएका थिए ।

सरकारमा यसअघि नै नागरिक उन्मुक्तिबाट रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री छन् । सोही मन्त्रालयको राज्यमन्त्री रहेका कैलाश चौधरी फिर्ता बोलाएर उनको ठाउँमा गिरीलाई पठाइएको छ । तर, अध्यक्ष रञ्जिताले शनिबार मात्र संसदीय दलका नेता घनश्याम चौधरीलाई फोन गरेर पार्टीबाट मन्त्रीहरू फिर्ता बोलाउन र सरकारको समर्थन फिर्ता लिन निर्देशन दिएका छन् ।

मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको उल्लेख गर्दै रञ्जिताले पार्टीको निर्देशन अवज्ञा गरे कारबाही गर्ने चेतावनीसमेत दिए  । यता रेशमले भने तीन मन्त्रीलाई शनिबारै बर्दिया बोलाएर ‘राम्रोसँग काम गर्नू’ भनेका छन् । शनिबार नै बुटवल पुगेका रेशमले पत्रकार सम्मेलन गर्दै ‘सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्री फिर्ता नहुने’ प्रतिक्रिया दिए ।

रञ्जिता र रेशमका मतभेदका कारण नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दल पनि अनिर्णीत छ । शनिबार रातिसम्म सरकारबाट फिर्ता हुनेबारे कुनै निर्णय गरेको छैन । रञ्जिता र रेशमबीचको विवाद गत पुस २६–२८ मा टीकापुरमा भएको पार्टीको महाधिवेशनमै देखिएको थियो ।

रेशमले आफू अध्यक्ष बन्ने तयारी गरेपछि रञ्जिता महाधिवेशनस्थल छोडेर काठमाडौं हिडेका थिए । पछि रेशमले उनलाई सहअध्यक्ष नियुक्त गरेका थिए । एक नेताका अनुसार महाधिवेशनमा रञ्जिताले अध्यक्ष हुन चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस्