Logo
Logo

‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौँ’


पुरुषोत्तम थापा


  • पुरुषोत्तम थापा

दैलेख (दल्लु), १२ चैत । ‘तपाइँहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौँ ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ ।
कोरोनाको संक्रमण कतै नफैलियोस र कोही पनि संक्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए ।
‘कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौं’, उनले भने, ‘कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौँ ।’ कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।
स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए । ‘हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौँ’ उनले भने । सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उनको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले बताए ।
कोरोना संक्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्