Logo
Logo

कोभिड-१९ : पिपिई सेट नहुँदा चिकित्सकलाई समस्या


- दृष्टि न्युज/संवाददाता


डोटी, १२ चैत । कोरोना भाइरसको रोकथामका लागि जिल्लामा बिभिन्न प्रयास भइरहे पनि उक्त संक्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई समस्या हुने भएको छ ।
कोभिड–१९ को संक्रमण भएका बिरामीलाई राख्नका लागि जिल्लामा आइसोलेशन कक्ष तथा शय्या तयारी अवस्थामा भए पनि यहाँका चिकित्सकले पिपिई सेट र एन ९५(कीटाणु पस्न नसक्ने) मास्क अहिलेसम्म पाउन सकेका छैनन् ।
पिपिई सेट र मास्क नपाउँदा चिकित्सक जोखिम मोलेरै अस्पतालमा बिरामी जाँच गर्न बाध्य भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा बबिता गजमेरले बताए । उनले भने, ‘अस्पालहरुमा पिपिई सेट छैन, संक्रमितको संख्या बढ्यो भने के गर्ने भन्ने समस्या छ ।’
सरकारले सबै स्वास्थ्यकर्मी सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मी पिपिई सेट नहुँदा दिनहुँ जोखिम मोल्दै काम गर्न विवश रहेको शैलेश्वरी अस्पतालका चिकित्सक आइजंग कुँवरले बताए । उनले उपचार गर्ने चिकित्सक नै असुरक्षित भएपछि बिरामी कसरी सुरक्षित रहने भन्दै सबैभन्दा पहिले स्वास्थ्यकर्मीलाई पिपिई सेट उपलब्ध गराउनु जरुरी रहेको बताए ।
सरकारले जिल्ला अस्पताल डोटीमा मात्रै जम्मा पाँच थान पिपिई उपलब्ध गराएको छ । जिल्लामा रहेका अन्य निजी क्षेत्रका अस्पताल तथा सरकारी स्वास्थ्य संस्थामा पिपिई सेट नभएको चोपडा अस्पताल दिपायलका निर्देशक हिक्मतसिंह चोपडाले बताए । उनले भने, ‘बिरामी जति सबै निजी अस्पतालमा छन्, ती अस्पतालका चिकित्सकले पिपिई सेटविना नै जाँच गरिरहेका छन्, बिरामीभन्दा पनि चिकित्सकलाइ बढी जोखिम छ ।’
यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले पिपिई सेटविना नै दिनरात जोखिम मोल्दै बिरामी जाँचसहित ज्वरो नापिरहेको शैलेश्वरी अस्पतालका चिकित्सक लोकेन्द्र बोहराले बताए ।
त्यस्तै स्थानीय स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यका कर्मचारीदेखि जिल्लासम्मका स्वास्थ्यकर्मी जोखिम मोल्न बाध्य छन् । यहाँका अस्पतालमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीसँग एन ९५ मास्क पनि नभएको बताइएको छ । त्यस्तै बिरामीको उपचारका लागि पर्याप्त स्वास्थ्य उपकरण नहुँदा स्वास्थ्यकर्मीलाई झनै समस्या हुँदै आएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डेले बताए । उनले भने, ‘उपचारमा खटिने चिकित्सकका लागि न त पिपिई सेट छ न त पर्याप्त स्वास्थ्य उपकरण कसरी स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्ने, ज्यानै धरापमा राख्नु पर्ने अवस्था आएको छ ।’
बिरामीको जाँचमा खटिने स्वास्थ्यकर्मीका लागि पिपिई सेट प्रदेश सरकारसँग माग गरिए पनि अहिलेसम्म उपलब्ध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा गजमेरले गुनासो गरे । उनले भने, ‘बिरामीको जाँचका लागि खटिनू भन्ने खबर आउँछ, पिपिई सेट र उपकरण माग गर्दा केही उत्तर आउँदैन, विनासामग्री कसरी उपचार गर्न खटिनू, हामीलाइ नि ज्यानको माया छ ।’
कोभिड–१९ को संक्रमण भएका बिरामीलाई उपचार तथा जाँच गरिसकेपछि पिपिई सेट जलाउनुपर्ने भएकाले एउटा चिकित्सकलाई कम्तीमा पनि तीनदेखि चार जोर पिपिई सेट आवश्यक पर्ने डा गजमेरले जानकारी दिए ।
सरकारले पिपिई सेट उपलब्ध नगराएका कारण यहाँका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकले हिजोआज सामान्य ज्वरो, रुघाखोकी लागेका बिरामीको जाँच गर्नसमेत आनाकानी गर्न थालेको स्थानीयवासी बताउँछन् ।
सरकारले पिपिई सेट, एन ९५ मास्क र अन्य उपकरण उपलब्ध गराउन नसकेका कारण चिकित्सक बिरामी जाँच गर्न डराउन थालेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए । उनले भने, ‘हामीसंँग स्वास्थ्य उपकरण नहुँदा जोखिम मोलेर जाँच गर्न बाध्य छौंँ, हामीलाई नै समस्या भए जिम्मेवार को हुने ?’ रासस

प्रतिक्रिया दिनुहोस्