
काठमाडौं । प्रहरी चौकी कान्तिबजार, महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झा पक्राउ परेका छन् ।
सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले आइतबार महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट पक्राउ परेको हो ।
पक्राउ परेका यादव र झामाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।














