Logo
Logo

स्टार अस्पतालले बनायो स्थानीय सामग्रीबाटै पिपिई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ चैत । कोरोना भाइरसको संक्रमण विश्व महामारीको रुपमा तिव्र रुपमा फैलिरहेको बेला नेपाल पनि उच्च जोखिममा छ । यसैबेला चिकित्सक तथा अस्पताल कर्मचारीले व्यक्तिगत सुरक्षाको सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को आवश्यकता भन्ने खबर आइरहेको छ ।
यसैबेला ललितपुर सानेपास्थित स्टार अस्पतालले स्थानीय सामग्री प्रयोग गरी पिपिई बनाएको छ । कोरोना भाइरसको महामारीसँगै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि पिपिईको विश्वव्यापी अभाव टार्न अस्पतालले यस्तो सामग्री बनाएको जानकारी दिएको हेल्थपोष्ट नेपालले उल्लेख गरेको छ ।
अस्पतालमा खपत हुने सेनिटाइजरसमेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुझाएको विधिअनुसार ब्याचलर अफ मेडिकल ल्याब टेक्नोलोजी पढाइ हुने भगिनी संस्था मोडर्न टेक्निकल कलेजको प्रयोगशालामा अस्पताललाई चाहिने मात्रामा उत्पादन सुरु गरिसकेको छ ।
अस्पतालले रोग सर्ने जोखिमबाट सकेसम्म विशेषज्ञ र कर्मचारीलाई जोगाउन सोसिअल डिस्ट्यान्सको अवधारणा अवलम्बन गरेर प्रविधि प्रयोगबाट वृहत विशेषज्ञ मिटिङको अभ्याससमेत सुरुवात गरेको जनाएको छ ।
प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार मंगलबार अस्पतालका अध्यक्षसहित ४२ विशेषज्ञको भिडियो मिटिङ गरेर सम्भावित विपदको थप तयारी विषयमा वृहत छलफल गरिएको थियो । प्रविधि विपत्तिका समयमा विशेषज्ञ परामर्शका लागि प्रयोग गर्ने अस्पतालको तयारी छ ।
चीनको उहान सहर कोरोनामा आक्रान्त भएसँगै अस्पतालले महामारीको सामना गर्न तयारी सुरु गरेको थियो, जसअन्तर्गत फिजिसियन तथा कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. अनिल पोखरेल तथा आकस्मिक विभाग प्रमुख डा. विनिता प्रधानसहितको १० सदस्यीर्य यापिड कोरोना रेस्पोन्स टिम बनाएको थियो ।
अस्पतालले कोरोना र मौसमी फ्लुका बिरामीलाई लक्षित गरी फिजिसियन डा. फिलिपश्याम रञ्जितको नेतृत्वमा ज्वरो क्लिनिक सुरु गरेको र उक्त क्लिनिकमा बस्ने चिकित्सक एवं स्वास्थ्यकर्मीले पनि पिपिई प्रयोग सुरुवात गरिसकेका छन् ।
डब्लुएचओको मापदण्डअनुसार बनेका पिपिई सेटमा हुनेजस्तै शरीर पूरै ढाक्नका लागि रेनकोट बनाउने वाटरपु्रmफ कपडा प्रयोग गरिएको छ । त्यसैगरी टाउको र अनुहार ढाक्न मास्कबाहेक मोटरसाइकल प्रयोगकर्ताले लगाउने गगल्स, हेल्मेटको अगाडि प्रयोग गरिने भाइजरलाई परिमार्जन गरेर प्रयोग गरी पिपिई बनाइएको छ । त्यस्तै, खुट्टा ढाक्नका लागि घुँडा नजिकसम्म ढाकिने प्लास्टिकका विशेष गमबुट र पन्जासमेत अन्य घरायसी काममा प्रयोग हुेन बाक्लो खालको पन्जा प्रयोग गरिएको छ ।
अस्पताल प्रशासनले करिब २ हजार २ सय रुपैयाँ हाराहारी खर्चमा तयार हुने विशेषखालको पिपिई सेट सहीरूपमा निर्मलीकरण गरेर पुनः प्रयोग गर्न सकिने र त्यसले गर्दा झन् किफायती हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्