Logo
Logo

प्रचण्डलाई विश्वासको मत दिए कारबाही गर्ने रेशमको चेतावनी


3.4k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग मतभेद भइरहेका बेला रेशमले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएका हुन् ।

नाउपा संसदीय दलको नेतासमेत रहेकी अध्यक्ष श्रेष्ठले पार्टीका सांसदलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् भने रेशम मत दिन नहुने पक्षमा छन् ।

यसै क्रममा आज प्रतिनिधिसभाको बैठक बस्नुअघि बिहानै खुलापत्र लेख्दै रेशमले पार्टीको निर्णय नमान्नेलाई कारबाही हुने चेतावनी दिएका हुन् ।

‘केन्द्रीय कार्यसमितिको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र भोग्नुपर्छ,’ रेशमले लेखेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ। यो भ्रम हो। उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ।’

कैलालीको टीकापुरमा भएको नाउपाको महाधिवेशनबाट अध्यक्ष बनेका रेशमलाई निर्वाचन आयोगले मान्यता नदिएपछि चिढिएका उनी वर्तमान सत्ता गठबन्धनमा सामेल नहुेन पक्षमा छन् भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा रहेका नाउपाका ७ सांसदमध्ये ५ जनालाई रेशमले एकैपटक मन्त्री बनाएर प्रदेश सरकारमा पठाएका छन् । रञ्जिता भने यसको विरोधमा छिन् र सुदूरपश्चिम प्रदेश सरकारबाट मन्त्रीलाई फिर्ता हुन भनेकी छन् । तर उनको निर्देशन अवज्ञा गरिएको छ । नागरिक उन्मुक्तिको केन्द्रमा चार र प्रदेशमा ७ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्