Logo
Logo

लकडाउन अवज्ञा गर्नेलाई उठबस, भोलिदेखि हिरासतमा राखिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ चैत ।
कोरोना भाइरससँग लड्न सरकारले घोषणा गरेको एक साता लामो लकडाउनलाई अवज्ञा गर्नेविरुद्ध सरकार कठोर बन्ने भएको छ । उनीहरुलाई बुधबार सडकमा लाठी प्रहार गरिएको थियो । बिहीबारदेखि थुनामै राख्ने तयारी गरिएको छ ।


देशका विभिन्न भागमा सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीको टोली खटिरहेको छ। केही स्थानमा प्रहरीसँगै सशस्त्र प्रहरी र नगर प्रहरी पनि परिचालित भइरहेको छ। मोरङको उर्लाबारी र पथरी क्षेत्रमा लकडाउनका बेला सडकमा निस्किनेविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भएको छ। प्रहरीले हात भाटा र लाठी बोक्दै लकडाउनमा सडकमा निस्किएकालाई घरतिर लखेटेको थियो । उता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रहरीले लकडाउन उलंघन गर्नेलाई तह लगाउन नयाँ जुक्ति निकालेको छ। स्थानीय सञ्चारकर्मी सुशील खड्काका अनुसार त्यहाँ लकडाउन उलंघन गर्नेलाई प्रहरीले सडकमै राखेर उठबस गराएको छ। सम्झाइ बुझाइ गर्दा पनि नमान्नेलाई प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइरहेको छ। देशका केही स्थानमा प्रहरीले लकडाउनमा अटेरी गर्नेलाई लाठीसमेत हानेर बल प्रयोग गरेको छ। मंगलबारदेखि सुरु लकडाउनका क्रममा पहिलो दिन देशभरबाट प्रहरीले ६८ जनालाई पक्राउ गरेको थियो। पर्साको वीरगन्जमा लकडाउन उलंघन गर्ने १५० जनालाई दिनभरी एउटा पार्कमा राखेर रिहा गरिएको थियो। पहिलो दिन लकडाउन खुकुलो भएपछि प्रहरीले दोस्रो दिन आज कडाइ गरेको छ। प्रहरीले आज लकडाउन उलंघन गर्नेलाई ठाउँ ठाउँबाट पक्राउ गरेको छ भने सडकमै कारवाही चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्