काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठकको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु हुने भएको छ ।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ ।

यसअघि प्रतिनिधिसभा बैठकमा डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए । सत्ता समीकरण बदलिएसँगै उनी निवर्तमान अर्थमन्त्री भइसकेका छन् ।
सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए । तर, सत्ता गठबन्धन परिवर्तन भई मन्त्रिपरिषद् पुनर्गठन भएपछि छलफल आजदेखि हुन लागेको हो ।
आजैको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची छ ।














