काठमाडौं । नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का नेता प्रेम सुवालले बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले फरक सत्ता समीकरण नेपाली काँग्रेसका अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक वर्ष, २०८१–८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता फेर्न सभामुखमार्फत सांसद सुवालले सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसको कार्यक्रम र नेकपा एमालेको कार्यक्रम एउटै हुन सक्छ र ?’ । सांसद सुवालले अर्थमन्त्रीको नेतृत्व फेरिएसँगै काँग्रेसले ल्याएको बजेटको सिद्धान्त तथा प्राथमिकता फेरिनुपर्ने बताए ।
गत फागुन १४ गते निवर्तमान अर्थमन्त्री डा महतले आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका थिए ।
तर, उक्त विधेयकमाथि छलफल हुन नपाउँदै नेपाली काँग्रेस नेतृत्वको सत्ता समीकरण भत्किएर नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) को समीकरणमा सरकार बनेको छ ।














