काठमाडैं, १२ चैत
मालसामान आपुर्तीका लागि सरकारले चीनसँगका रसुवागढी र तातोपानी नाका खोल्ने निर्णय गरेको छ । नाका बन्द हुँदा स्वास्थ्य लगायत अत्यावश्यक सामाग्री ल्याउन समेत समस्या भएपछि खोल्ने निर्णय भएको हो ।
कोराना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले सो निर्णय गरेको हो । चीनमा कोरोना संक्रमण बढेपछि सरकारले करिब दुई महिनाअघि नाका बन्द गरेको थियो । हाल मालसामान आपुर्तीका लागि मात्र नाका खुलाउने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । स्वास्थ्य र कृषि मन्त्रालयले यससम्बन्धि प्रोटोकल बनाएको छ । भारतसँगको नाका बन्द भए पनि मालसामान आपुर्ती रोकिएको छैन ।
त्यस्तै, बैठकले बैंकिङ सेवालाई निरन्तरता दिने निर्णय भएको छ । लकडाउनको अवस्थामा खुल्ने बैंकहरुको सूचि अर्थ मन्त्रालयले बनाउने र गृह मन्त्रालयले त्यसमा समन्वय गर्ने भएको छ ।
बैठकले औषधी, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी, माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने सवारी साधनलाई निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
खाद्य स्टोरहरुलाई होम डेलिभरी गर्न निर्देशन
लकडाउनको अवस्थामा सरकारले खाद्य स्टोरहरुलाई होम डेलिभरी सुविधा दिन निर्देशन दिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले सिमित खाद्य स्टोरका सवारी साधनलाई अनुमति दिने भएको छ ।
सरकारले खाद्य स्टोर, दुध, तरकारी तथा फलफूल पसल सञ्चालनसम्बन्धि प्रष्ट मापदण्ड बनाउन सकेको छैन। त्यस्ता पसलमा भिड हुन नदिन स्थानीय तहलाई निर्देशन दिइएको छ ।
इन्डक्सन चूलोलाई प्रोत्साहन दिन बिद्युत महशुल र भन्सार महसुल छुट दिने निर्णय समेत गरिएको छ ।