
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले वेल घेर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसो कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । दोस्रो बैठक सुरू भएलगत्तै कांग्रेस सांसदहरूले वेल घेराउ गरेका हुन् ।
सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए ।
लगत्तै कांग्रेस सांसदहरू वेलतर्फ अघि बढेका थिए । उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए । साथै उनीहरूले गृहमन्त्रीको राजीनामा पनि मागेका थिए ।
कांग्रेस सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएकोले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जबाफ दिनुपर्ने माग गरिरहेका छन् ।
सभामुख घिमिरेले आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाउँदै चैत ४ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।














