Logo
Logo

कोभिड-१९ : इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा संक्रमित बढ्दै


- दृष्टि न्युज/संवाददाता


जेनेभा, १३ चैत (एपी) । कोरोना भाइरसको संक्रमण सुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौँ दिनसम्म एकैदिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र संक्रमितको संख्या निकै कम हुँदै गयो ।
चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन हजार २८७ पुगेको छ । हिजो यो संख्या तीन हजार २८२ रहेको थियो । यसैगरी यस रोगबाट यहाँ ८१ हजार २८५ जना संक्रमित रहेका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको संक्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् ।
यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या तीन हजार ६४७ पुगेको हो । ब्रिटेनका राजकुमार चाल्र्समा पनि कोरोनाभाइरस संक्रमण देखा परेको छ । त्यसैगरी स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सक्रमण देखिएपछि अस्पताल लगिएको समाचारमा जनाइएको छ । स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा संक्रमण बढिरहेको जनाइएको छ ।

स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पु–याउन मतदान गरिने भएको छ ।
विश्वभरिको हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोभिड–१९ बाट २१ हजार २९७ ले ज्यान गुमाएका छन् । तर एक लाख दश हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।
भारतभरि कोरोनाभाइरस संक्रमितहरूको संख्या ६७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको संख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् ।
गत मंगबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मध्यरातबाट लागु हुने गरी आगामी २१ दिनसम्म लकडाउन जारीको घोषणा गरेका थिए । ‘तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ’ प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्