कास्की । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया रोकिएको छ । शनिबार हुने भनिएको प्रतिनिधि छनोटको प्रक्रिया रोक्दै चैत १० र ११ गतेलाई तोकिएको छ । जिल्ला कमिटीको निर्णयप्रति एकरूपता कायम गरेरमात्र प्रतिनिधि छनोटको प्रक्रिया अगाडि बढाउन केन्द्रीय संगठन विभागले निर्देशन दिएपछि प्रतिनिधि छनोट प्रक्रिया सारिएको बताइएको छ ।
गण्डकी प्रदेश कमिटीले तत्काल प्रतिनिधि छनोट प्रक्रिया अगाडि नबढाउन केन्द्रले दिएको निर्देशन जस्ताको जस्तै परिपालन गर्नु भनेर जिल्लामा पठाएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए ।

निर्देशनपछि जिल्ला कमिटीले छनोट प्रक्रिया तत्कालका लागि स्थगित गरेको हो । केन्द्रीय संगठन कमिटी र प्रदेश कमिटीको निर्देशनअनुसार प्रतिनिधि छनोट प्रक्रिया स्थगित गरिएको जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङले बताए । थप छलफलका लागि आइतबार जिल्ला कमिटी बैठक बोलाइएको अध्यक्ष गुरुङको जानकारी दिए ।
विवादको कारण
यसअघि प्रतिनिधि छनोटको मापदण्ड तय गर्ने उद्देश्यले गत फागुन २४ गते बैठक बसेको थियो । बैठकमा प्रतिनिधि छनोटको मापदण्डबारे छलफल भएपनि जिल्ला कमिटी अध्यक्षले प्रमाणीकरण गरेनन् । प्रमाणीकरणबिना जिल्ला अध्यक्ष गुरुङले फागुन २६ गते प्रतिनिधि छनोटको लागि सर्कुलर जारी गरेका थिए । त्यसपछि थप जिल्ला कमिटीमा विवाद चुलिएको हो ।
अध्यक्षको सर्कुलरप्रति जिल्ला इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापा, जिल्ला सचिव बैनबहादुर क्षेत्रीलगायतले असहमति जनाएका थिए । उनीहरुको उजुरीअनुसार संगठन विभागले प्रतिनिधि छनोट प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको हो ।
जिल्ला कमिटीको बैठकमा ४० लाई आधार मानेपछि थप ४० जना सदस्यबाट १ जना प्रतिनिधि चयन गर्नेगरी माइनुट तयार भएको जिल्ला सचिव बैनबहादुर क्षेत्रीको भनाइ छ । तर, अध्यक्ष गुरुङको सर्कुलरमा भने ४० भन्दा बढी सदस्य भएको हकमा प्रत्येक २१ जना पार्टी सदस्य बराबर थप एकजना प्रतिनिधि चयन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि छनोटमा ४० जना पार्टी सदस्यलाई आधार मान्दा ती सदस्यबाट २ जना खुला, १ जना महिला र १ जना उत्पीडित प्रतिनिधि चयन गर्ने सर्कुलर अध्यक्षले गरेका छन् । ४० र २१ को विषयमा दुई पक्षको विवाद भएको हो । जिल्लाको अघिल्लो अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र क्षेत्री स्थायी कमिटी सदस्य खगराज अधिकारीनिकट प्यानलबाट निर्वाचित भएका थिए ।
महासचिवले पठाएको सर्कुलरमा आधार संख्या तय गरेपछि थप प्रतिनिधि त्यही आधार संख्याको ५० प्रतिशतभन्दा बढी भएपछि थप १ प्रतिनिधि चयन गर्नुपर्नेछ भन्ने जिल्ला कमिटी बैठकमै पढेर सुनाइएको थियो । बैठकमा भएको छलफलका आधारमा सर्कुलर जारी गरेको गुरुङले बताए । बैठकमा थप ४० जनाबाट एकजना आउने विषयमा छलफल नै नभएको अध्यक्ष गुरुङको भनाइ छ ।
जिल्लाको निर्णयविरुद्ध इन्चार्ज केन्द्रमा जानु गलत भएको बताउँदै अध्यक्ष गुरुङले भने, ‘इन्चार्जको काम समन्वय गर्ने हो । निर्णय गर्ने होइन । जिल्लाको निर्णयविरुद्ध केन्द्रमा जानु गलत हो ।’
उनी सल्लाहकार परिषद्लाई अधिवेशनमा नसमेट्ने पक्षमा थिए । तर,सचिव क्षेत्री सल्लाहकार परिषद्लाई प्रतिनिधि बनाउनुपर्ने पक्षमा छन् । जिल्ला कमिटीको असार ९ गतेको बैठकले जिल्ला सल्लाहकार परिषद् गठन गरेको थियो । तर, त्यसलाई थप अगाडि नबढाउँदा परिषद्को कामकारबाही हुन सकेको छैन ।














