
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले लिने सम्भावना रहेको बताएका छन् ।
आइतबार बिहान पोखरामा गण्डकी प्रदेशका नेता–कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गण्डकी सरकारको नेतृत्व माओवादीले पाउनेगरी दलहरुबीच छलफल भइरहेको बताएका हुन् ।
उनले भने, ‘गण्डकी प्रदेशमा हामीले यो पटक सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । त्यसै अनुसार सत्ता साझेदार दलहरुबीच छलफल भइरहेको छ ।’ यद्यपी सत्ता समीकरणभित्रका दलबाट मात्र सरकार बनाउन आवश्यक संख्या पुर्याउन समस्या रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले समीकरणभन्दा बाहिरका दलको पनि समर्थन लिने प्रयास भइरहेको बताए ।
‘संख्याको समस्या अझै पनि कायम छ । यो विषयमा अहिले योभन्दा बढी नगरौं, तर हामी सहज ढंगले संख्या पुर्याउनेतिर पनि मिहिनेत गर्दैछौं । समीकरणभन्दा बाहिरका दलको पनि समर्थन प्राप्त गर्ने उपायतिर हामी लागिराखेका छौं,’ उनले भने, ‘त्यो वातावरण बन्यो भने सरकारको नेतृत्व हामीले प्राप्त गर्ने करिब–करिब निश्चित देखेको छु मैले ।’
यसअघि माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले गण्डकीमा माओवादी नेतृत्वमा सरकार बनाउनुपर्ने माग गरेकी थिइन् ।














