काठमाडौं । प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले जनता समाजवाद पार्टी (जसपा)की सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको जनमत पार्टीले जनाएको छ । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद भएकी थिइन् ।
अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।














