
काठमाडौं । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)कहाँ पुगेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार बिहान गृह मन्त्रालय पुगेर सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बुझेका हुन् ।
‘हामीले आज प्रतिवेदन बुझेको छौं । अहिलेसम्म मिडियामा आएका विषय बाहेक औपचारिक रुपमा हामीलाई कुनै जानकारी आएको थिएन । बल्ल प्रतिवेदन हात परेको छ । अब अध्ययन गरेपछि सम्बधीत व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
विमानस्थलको भन्सार जाँच पास भइसकेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।
त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरु सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।














