
काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभिर जंगलमाथि शव गाडिएको अवस्थामा भेटिएकी सुस्माको हत्या आरोपमा छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
बुढानिलकण्ठ माविमा कक्षा ११ मा अध्ययनरत तारेभिरकै स्थानीय रहेकी सुस्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी थिइन् । उनको परिवारले उनी हराएको भन्दै खोजी गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही क्रममा गत फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया लामाको शव फेला पारेको थियो ।
उनको शव गाडिएको अवस्थामा जंगलमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरीले उनको शव डोरीले बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशकामा अनुसन्धान सुरु गरेको थियो ।
सुस्माको हत्या एकतर्फी प्रेमका कारण भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार रुपेन्द्रले ८ महिनादेखि सुस्मालाई एकतर्फी प्रेम गर्ने गरेको पाइएको छ ।
उनीहरु २ वर्ष पहिलेदेखि घाँस काट्न, बाख्रा चराउन सँगै जाने आउने गरेको प्रहरीसमक्ष रूपेन्द्रले बयान दिएका छन् । तर फोन तथा सामाजिक सञ्जालमा भने कुराकानी भएको देखिएको छैन। एकतर्फी माया गरेका रुपेन्द्रले पटक पटक प्रेम प्रस्ताव गर्दा पनि सुष्माले अस्वीकार गरेपछि हत्या गरेको प्रहरी समक्ष बताएका छन्।
हत्या गर्नुभन्दा ८ दिन पहिलेदेखि उनले बाटोमा ढुकेर बसेको र खाल्डो खन्नका लागि ४ दिनदेखि कोदालो पनि लगेको खुलेको छ।
माघ २४ गते घटनाको दिन सुष्मा कलेज जाँदै गर्दा बाटो छेकेर रुपेन्द्रले प्रेम प्रस्ताव गरेका थिए। तर सुष्माले इन्कार गरेपछि पछाडिबाट घाँटी थिची अचेत बनाएर पुर्न पहिलै यकिन गरेका स्थानमा लगेर टाइ र जुत्ताको तुनाले कसेर हत्या गरेका थिए। हात पनि पेटीले बाँधेका थिए। हत्यापछि उनले कुटोले खाल्डो खनेर पुरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।














