Logo
Logo

पाल्पामा ४२ क्वारेन्टाइनमा, विदेशबाट फर्केका होम क्वारेन्टाइनमा


- दृष्टि न्युज/संवाददाता


तानसेन, १३ चैत । कोरोना भाइरसको संक्रमणबाट जोगिन पाल्पाका विभिन्न ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा जानेको संख्या वृद्धि भएको छ ।
जिल्लाका १० स्थानीय तहमा आठ क्वारेन्टाइन भएकामध्ये तानसेन नगरपालिकाको जनप्रिय माध्यमिक विद्यालय, रामपुर नगरपालिकाको बालकल्याण प्राथमिक विद्यालय, रम्भा गाउँपालिकाको रम्भा माध्यमिक विद्यालय र बगनासकाली गाउँपालिकाको ग्राम्य माध्यमिक विद्यालयमा प्रायः भारतबाट आएका नागरिकलाई राखिएको छ ।
पाल्पामा धनगढी र गड्गाचौकी हुँदै भित्रिएका नागरिकलाई सीधै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार तानसेन नगरपालिकामा २६ तथा बगनासकालीमा दुई जना र बगनासकालीमा राखिएका अन्य रामपुरका नौ जनालाई फर्काएर आफ्नै रामपुरको क्वारेन्टाइनमा राखिएको छ ।
त्यस्तै रम्भा गाउँपालिकाको क्वारेन्टाइनमा बिहीबार पाँच जनालाई राखिएको र विदेशबाट भित्रिएका ५२ नागरिक रहेकामा केहीलाई होम क्वारेन्टाइनमा व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको भनाइ छ ।
रामपुर नगरपालिकाले नगरमा भित्रने नागरिकको तथ्यांक संकलन गर्दा अहिलेसम्म १३५ नागरिक भारतलगायत देशबाट गाउँ आएकामा नौ जना क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई वडावडामा क्वारेन्टाइनको स्थापना गरी राख्न पहल भइरहेकाले हाल घरमै सुरक्षित रहन अनुरोध गरिएको नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार १० वटै वडामा क्वारेन्टाइन तयार गरिने छ । रामपुरमा आवश्यकता हेरेर प्रत्येक दिन एक घण्टा खाद्यान्नका पसल खोल्ने तथा बाहिरबाट आएका नागरिकलाई जनप्रतिनिधिमार्फत निगरानीमा राखिएको इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्