
काठमाडौं । नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा विवाद सृजना भएको छ । नवौं जिल्ला अधिवेशनमा प्रतिनिधीहरुको भावना विपरीत पदाधिकारी घोषणाको तयारी भएपछि विवाद सृजना भएको हो ।
अध्यक्ष मण्डलले आज सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । चन्दले अधिवेशन प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको बताए ।
चैत १ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको छ ।
चन्द अघिल्लो कार्यकालमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । तर, अघिल्लो पटक सदस्यमा चुनाव हारेकालाई यसपटक उपाध्यक्ष बनाउने सहमति भएका कारण विवाद भएको एक नेताले बताए ।














