Logo
Logo

कागतीः छाला सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन उपयोगी



एजेन्सी । कागती बहुउपयोगी र गुणकारी फल हो । कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि जोगाउन मद्दत गर्छ ।

कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोग लाग्ने खतराबाट पनि धेरै हदसम्म जोगाउँछ ।

कागतीले उच्चरक्तचाप घटाउँछ, पाचन शक्ति बढाउँछ, राम्रो कोलेस्टेरोल बढाउँछ , भोक जगाउँछ र शरीरमा स्फूर्ति बढाउँछ । यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । दालसँग कागती प्रयोग गर्दा यसले शरीरलाई लौहतत्वको शोषण गर्न मद्दत गर्छ । सधैं कागती खाने घरमा मानिस अन्यको तुलनामा कम बिरामी हुन्छन् भन्ने मान्यता पनि छ ।

कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ । ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ । कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ । कपालमा चाया परेको छ भने कागतीको रसले मालिस गर्दा चाया कम हुन्छ ।

वाकवाकी लागेको समयमा कागतीको टुक्रा काटेर चाट्नाले वाकवाकी कम हुन्छ । उच्च रक्तचाप भएका बिरामीले एक चम्चा कागती एक कप पानीमा मिसाएर खाने गर्नाले राम्रो हुन्छ ।

घाँटी दुख्दा वा रुघा लाग्दा उमालेको पानीमा कागती र मह मिसाएर पिउनाले बिमार निको हुन्छ । कागतीको रस पानीमा हालेर कुल्ला गर्नाले मुख गन्हाउने समस्या हट्छ । त्यस्तै मुखको घाउ र दाँतबाट रगत आउने निको हुन्छ ।

पसिना गन्हाउने समस्या भएकाहरूले पानीमा दुई चम्चा कागतीको रस राखेर नुहाउने, नुहाइ सकेपछि कागतीको बोक्रा काखी र खुट्टामा दल्ने गर्दा समस्या कम हुन्छ ।

जुम्रा पर्दा पनि कागतीको प्रयोग गर्न सकिन्छ । दुई चम्चा जति कागतीको रस र एक–दुई चम्चा लसुनको लेदो बनाएर तीन–चार घण्टासम्म टाउकामा यसको लेदोले मसाज गर्दा जुम्रा मर्छ ।

प्रतिक्रिया दिनुहोस्