
काठमाडौं । पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा निर्णय लिन बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ ।
सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका उपाध्यक्ष महरा पक्राउ परेपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठक कुनै निर्णय नगरी सकिएको हो । बैठकपछि प्रवक्ता अग्नि सापकोटाले उपाध्यक्ष महराको विषयमा छलफल भएपनि ठोस निर्णय हुन बाँकी रहेको बताए ।
‘उपाध्यक्ष महराको बारेमा छलफल भइरहेको छ । हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ . बैठकले कुनै निष्कर्ष भने निकालेको छैन,’ उनले भने ।
आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए ।














