Logo
Logo

रोष्टममा पुगेर राप्रपा सांसद विना लामाले बोल्न नमानेपछि…


3.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुन आफ्ना भनाइ राखेर हिँडेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले नियमापत्ति गरेको छ । आज बसेको बैठकमा आर्थिक वर्ष ०८१–८२ को बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा सांसदहरुले बोल्ने क्रम जारी रहेका बेला अर्थमन्त्री पुन बाहिरिएका थिए ।

नेकपा एमाले, माओवादी केन्द्र र रास्वपासँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले बोल्ने समयमा संसद्‍मै रहेका अर्थमन्त्री राप्रपा सांसदले बोल्न लाग्दा सदनबाट बाहिरिएपछि सांसद विना लामाले नियमापत्ति जनाएकी हुन् ।

सांसद लामाले रोष्टममा पुगेर अर्थमन्त्री पुनको उपस्थितीविना नबोल्ने अडान लिइन् । उपसभामुख इन्दिरा रानाले उनलाई बोल्न समय दिएपछि रोष्ट्रममा पुगेर भनिन्, ‘मैले यहाँ अर्थमन्त्री देखिनँ उहाँ नै नभएपछि कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाइयो भने राम्रो हुन्थ्यो । अर्थमन्त्री नहुँदा कसलाई सुनाउने ?’

उपसभामुखले अर्थमन्त्री अर्को प्रतिनिधि राखेर खाना खान गएको भन्दै बोल्न आग्रह गरिन् । तर, पनि सांसद लामा तयार भइनन् । उनले भनिन्, ‘यसमा पनि विभेद भएको जस्तो लाग्यो । राप्रपाको सदनमा बोल्ने पालो आउनेवितिक्कै अर्थमन्त्री उठेर हिँड्नुभयो । राप्रपा आउँदा उहाँ उठेर जानू भनेको विभेदकारी नै हो । यसमा म आपत्ति जनाउन चाहन्छु । अर्थमन्त्री चाहियो ।’

उपसभामुखले बोल्दै जानू समय बढी दिन्छु भन्दा पनि लामा तयार भइनन् । उनले थपिन्, ‘मलाई १० मिनेट दिइएको छ । १० मिनेटमा पनि उहाँ आउनुभएन भने सदस्यहरूलाई मात्रै सुनाऔं ?’

उनी बोल्न तयार नभएपछि उपसभामुखले लामालाई पछि बोलाउने भन्दै जसपा सांसद प्रदीप यादवलाई समय दिने क्रममा अर्थमन्त्री टुप्लुक्क आइपुगेपछि उनले बोल्न सुरु गरिन् । भनिन्, ‘अर्थमन्त्री आइदिनुभयो धन्यवाद । नत्र मलाई लागेको थियो राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्