Logo
Logo

बालुवाटारबाट अमेरिकी राष्ट्रपति ट्रम्पलाई ब्यंग्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर फर्किएको दुई साता नवित्दै बिहीबार राति अचानक महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएर शुक्रबार बेलुकी ६ः३० बजे डिस्चार्ज भई बालुवाटार निवास फर्किएका छन् ।
प्रधानमन्त्री ओलीलाई बिहीबार राति अचानक मुटुको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अहिले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओली अस्पताल भर्ना भएकै बेला यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले विश्व नै हल्लाउने गरी अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई आफ्नो फेसबुकबाट थर्काएका छन् । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार भएदेखि नै विवादित अभिव्यक्ति दिँदै आएका थापाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ब्यंग्यात्मकरुपमा थर्काएपछि पुनः विवादित बनेका छन् ।
विषेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकार थापाको फेसबुक टिप्पणीलाई लिएर नेपालस्थित कुटनीतिक नियोगका अधिकारीहरुले जिब्रो टोकेका छन् । सामान्यतः प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट अभिव्यक्त यस्ता धारणालाई कुटनीतिज्ञहरुले सरकारको आधिकारिक धारणा भनेर बुझ्न गर्छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार बनेपछि एमसीसी विवाद चुलिएको छ । यस्तो अवस्थामा नेपाल अमेरिकी धुरीमा उभिने कि चिनियाँ भन्ने कुनै टुंगो छैन । यसैबेला नेपालका प्रधानमन्त्रीकै प्रेस सल्लाहकारबाट आएको टिप्पणीले नेकपा सरकारको अमेरिकी सरकारको नीतिको विपक्षमा रहेको पुष्टि हुन्छ ।
त्यसमाथि यतिबेला सिंगो विश्व कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले ग्रस्त छ । यस्तो अवस्थामा एक देशले अर्को देशसँग हातेमालो गर्दै अगाडि बढ्नु आवश्यक छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङ पिङबीच भएको संवादलाई लिएर नेपालका प्रधानमन्त्रीको प्रेस सल्लाहकारले ब्यंग्यको विषय बनाउन पक्कै उपयुक्त होइन । विश्वमै मानवजाती माथि आएको अहिलेको संकटमा यस्तो टिप्पणी गर्नु अमानवीय त हो नै, टिप्पणी गर्नेको अज्ञानता पनि हो ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार थापाको यो व्यक्तिगत भनाइ हो वा नेपाल सरकारको आधिकारिक प्रतिक्रिया हो भन्ने विषयमा परराष्ट्र मन्त्रालयले बोल्नुैपर्छ । अन्यथा, बालुवाटारमा भित्रिएको ‘कोरोना’ले सरकारलाई अप्ठ्यारोमा पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्