काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय र आम निर्वाचनमा बागी उम्मेदवार दिने आफ्ना नेतालाई माफी दिने तयारी गरेको छ ।
त्यस समय गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोह गरेका नेता–कार्यकर्तालाई कांग्रेसले कारबाही गरेको थियो । कांग्रेसको अनुशासन समितिले आफ्नो पार्टीका उम्मेदवार नभएको ठाउँमा गठबन्धनमा विद्रोह गर्नेहरूको कारबाही फुकुवा हुने जनाएको छ ।

समितिका अनुसार कांग्रेस अनुशासन समितिले २०७९ वैशाखमा भएको स्थानीय गठबन्धनमा माओवादी, एकीकृत समाजवादी र जसपाका उम्मेदवारविरुद्ध बागी दिएकालाई माफी दिने तयारी छ । यस्तै गत मङ्सिर मा ४ मा भएको आम निर्वाचनमा गठबन्धनमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका उम्मेदवारविरुद्ध उभिएका कांग्रेस नेता–कार्यकर्ताले पनि माफी पाउने छन् ।
गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कांग्रेसले पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासित गरेको थियो । गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसबाट अजय द्विवेदी, रामकुमार राई, राजन कुँवर, महादेव गुरुङ, धर्मराज पोखरेल लगायतका नेता कारबाहीमा परेका छन् ।
कांग्रेस अनुशासन समितिका सदस्य सञ्जय गौतमले चैत १५ गते बस्ने बैठकले कारबाहीको सिफारिसको वर्गीकरण गर्ने बताए । कांग्रेसले केही नेता कार्यकर्ताहरूको कारबाही फुकुवा गरिसकेको छ ।














