Logo
Logo

अब बागलुङ-पोखरा विद्युतीय बस


441
Shares

ढोरपाटन (बागलुङ) । बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आजदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।

सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

रु एक करोड १० लाख लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताउछन् । एउटा गाडीको मूल्य रु ५५ लाख रहेको उनको भनाइ छ । ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने उनी बताउछन् । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताए ।

उनले भने, ‘प्रविधिको विकाससँगै अहिले विश्वमा धेरै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्, हामीहरुले पहिलो पटक पोखरा–बागलुङ विद्युतीय माइक्रोबस सेवा सञ्चालन गरेका छौँ, सुरुआती चरणमा दुई बसबाट सेवा सुुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ, यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पुर्याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।’

हाललाई बागलुङदेखि पोखरासम्मका लागि रु चार सय ५० भाडादर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बसपार्कदेखि छुट्नेछ । अध्यक्ष केसीले विद्युतीय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताए । जिल्लामा अधिकांश सवारीसाधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुले सास्ती भोग्ने गरेको जनाउँदै उनले त्यो अवस्था पनि अन्त्य गर्न सघाउ पुग्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विद्युतीय बसको सेवा शुभारम्भ गरेका थिए । उनले समयानुकूल हरेक क्षेत्रमा परिवर्तन हुन जरुरी रहेको भन्दै धौलागिरि यातायात सेवा प्रालीले पहिलो पटक यो सेवा विस्तार गरेकामा धन्यवाद दिए । उनले बजार क्षेत्रमा ध्वनि तथा वायु प्रदूषण हुनबाट रोक्न विद्युतीय गाडीले महत्वपूर्ण भूमिका खेल्न बताए ।

प्रतिक्रिया दिनुहोस्