Logo
Logo

कान्ति अस्पतालले उपचार नगरी फर्काएकी सात वर्षीया बालिकाको मृत्यु


4.9k
Shares

काठमाडौं । कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ । उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

गएको मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पु¥याइएकी बालिकालाई कान्तिले भर्ना नगरी फिर्ता पठाएको थियो । सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।

गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए । त्यतिबेला अस्पतालमा पिआइसियू बेड खाली नभएको उनीहरुको दाबी छ ।

मंगलबार राति कान्तिले बालिकालाई फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए । तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएका थिए ।

कान्तिमा १ घण्टा अक्सिजनबिना होल्ड भएर फर्काइँदा बालिकाको अवस्था अझ गम्भीर बनेको बालिकाको उपचारमा सरोकार राख्दै आएका राजु सुवेदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ ।

यता कान्तिले बालिकालाई भर्ना नगरी फिर्ता गरेको घटनाको विरोध भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालले बिरामीलाई चेकजाँच नगरी फिर्ता पठाउन नमिल्ने बताउँदै उक्त घटनाको छानबिन हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्