Logo
Logo

नेत्रज्योति सङ्घद्वारा ३० लाख आँखाका बिरामीको जाँच


567
Shares

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशैभर रहेका आफ्ना आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ ।

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाका शल्यक्रिया गरेको थियो । सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले आँखा उपचार सेवा प्राप्त गरेका थिए ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको जानकारी दिए ।

उनले सङ्घले आँखा उपचारको साथ साथै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिए । उनका अनुसार सङ्घद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो । विसं २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ ।

दृष्टिविहीनलाई निःशुल्क ज्योति
सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घले वर्षेनी हजारौँ दृष्टिविहीनलाई निः शुुल्क ज्योति प्रदान गर्दै आइरहेको बताए । उनका अनुसार सरदरमा सङ्घले वार्षिक २० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया निःशुल्क गर्दै आइरहेको छ । सङ्घले सङ्घीय सरकार, प्रदेश सरकार, विभिन्न स्थानीय निकाय तथा विकास साझेदारसँगको सहकार्य तथा सङ्घद्वारा सञ्चालित अस्पतालले आफ्नै स्रोतमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको हो ।

उनले भने, ‘सङ्घले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको छ र सोका लागि विभिन्न निकायसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा पाइरहेका छन् ।’

आर्थिक अभाव र जानकारीको अभावमा वर्षौदेखि दृष्टिविहीन जीवन बिताइरहेका उनीहरुलाई नेत्रज्योतिको यो कार्यक्रमले नयाँ जीवन नै प्रदान गरेको बताइएको छ । उनले सङ्घले मोतिविन्दुका बिरामीको शल्यक्रियाका लागि उच्चतम प्रविधि भित्रायायको छ यसले गर्दा सल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्किन सक्ने जानकारी दिए ।

सबै नागरिकलाई समतामूलक तथा बृहत आँखा स्वास्थ्य सेवा दिनका लागि मोतिविन्दुका अलावा दृष्टिदोष, बालदृष्टि विहिनता, जलबिन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पुर्नस्थापकिय सेवासम्बन्धी राष्ट्रिय सेवा प्रदान गर्दै आइरहेको उनले बताए ।

सङ्घले हाल देशभरिमा २८ आँखा अस्पताल स्थापना गरिसकेको छ । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घद्वारा सञ्चालित २७ आँखा अस्पतालले अहिले दशैभरि जनताको घरदैलोमा सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेकोे बताए ।

उनका अनुसार सङ्घले आँखा अस्पतालको अलावा एक सय ५६ आँखा उपचार केन्द्रहरुको स्थापना गरेको छ । जहाँबाट प्राथमिक तहको आँखा उपचार सेवा प्रवाह हुन्छ । उनका अनुसार मानिसमा देखिने आँखासम्बन्धी करिब ८० प्रतिशत समस्याको समाधान आँखा उपचार केन्द्रबाट नै हुने गर्दछ । सङ्घको अहिले सात वटै प्रदेश र ४३ जिल्लामा जिल्ला शाखाको स्थापना भइसकेको छ ।

सङ्घमा आबद्ध करिब १० हजार स्वयं सेवकको अथक प्रयास र मिहिनतबाट सङ्घले उपलब्धि हासिल गर्न सफल भएको उनले बताए । उनले भने, ‘आर्थिक अभाव र भौगोलिक विकटताका कारण कोही पनि मानिस आँखा उपचारबाट वञ्चित नहुन् भनेर सङ्घले विभिन्न समयमा देशका विकट क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।’

सन् १९८१ म गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको स्थिति ०.८४ प्रतिशत रहेको देखाएको थियो । यसको ठीक ३० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले नेपालमा अन्धोपनको स्थिति घटेर ०.२८ प्रतिशतमा झरेको थियो । नेपालको अन्धोपन न्यूनीकरण कार्यमा प्राप्त यो सफलतामा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।

आँखा उपचार र दृष्टिविहीनता न्यूनीकरणमा कोशेढुङ्गाा बन्न सफल सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म नियमित आँखा उपचार सेवालाई विस्तार गर्ने लक्ष्य लिएको कार्यकारी निर्देशक डा मिश्रले बताए ।

उनले भने, ‘अहिलेको विज्ञान र प्रविधिको आधुनिक युगमा कोही पनि आँखा उपचार सेवाको पहुँच टाढा नहोस् भन्ने हेतुले अहिले सङ्घले आफ्ना योजना एवं कार्यक्रम अगाडि बढाएको छ । सङ्घले हालै मात्र आफ्नो पाँच वर्षे रणनीतिक योजना तयार पारेको छ । उक्त योजनाले नेपालमा बढीभन्दा बढी मानिसलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारका लागि पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।’ नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेलको सक्रियतामा विसं २०३५ चैत १३ गते सङ्घको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्