Logo
Logo

तातोपानी नाका हुँदै ल्याइने भनिएको किट हवाई मार्गबाटै ल्याइँदै


- दृष्टि न्युज/संवाददाता


नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी जहाज चीनको ग्वान्जाओका लागि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै । वाइडबडी जहाजले कोरोना परीक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामाग्री ल्याउनेछ । तस्वीर : रासस

काठमाडौं, १५ चैत । तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ ।
स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।
नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि सरकारले बन्द तातोपानी र रसुवा नाका सञ्चालन गरेर अति आवश्यक सामग्री ल्याउने निर्णय गरेको थियो ।

भोटेकोशीमा अन्तर्राष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेकाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइने भएको छ ।
जनप्रतिनिधिको शनिबार ाज बसेको बैठकले विश्व स्वास्थ्य संगठनको मापदण्डानुरुप स्वास्थ्य कक्ष स्थापना गर्ने निर्णय गरेको हो । बैठकले औषधि तथा अत्यावश्यक सामग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ । गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण बढेमा धुलिखेल अस्पताल पठाइने पालिकाले निर्णय गरेको छ ।
‘गाउँ कार्यपालिका र व्यवसायीसँग छलफल गरी थप सुरक्षा सावधानीको व्यवस्था मिलाउँदै छौँ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भन्नुभयोे, ‘डब्लुएचओको मापदण्डअनुसार हेल्थ डेस्क सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ ।’ सुरक्षा सावधानी अपनाएर नाकाको काम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्